पोर्चुगलमा मनाइयो बिस्का जात्रा

प्रकाशित मिति:

भरत प्रधान
लिस्बन, ४ बैशाख । पोर्चुगलमा रहेका नेवार समुदायले बिस्का (बिस्केट) जात्रा मनाएका छन् ।

नेवाः खल पोर्चुगलको आयोजनामा मंगलबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बिस्का जात्रा मनाइएको हो । जात्राका अवसरमा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिएको थियो । सो अवसरमा जात्रामा सहभागीहरुलाई टीका, धजा लगाईदिनुका साथै समयबजी र सगुन प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलकहरूसमेत प्रस्तुत गरिएको थियो । एकै स्थानमा भेला भएका नेवार समुदायले बिस्का जात्रा नखः तथा नयाँ वर्ष २०८२ को एकापसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।

नेवारी रीतिरिवाज, परम्परा, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप विशेष कार्यक्रमको आयोजना गरेर विदेशी भूमिमा बिस्का जात्रा मनाइएको खलका संयोजक अमृतरत्न शाक्यले बताए ।