भरत प्रधान
लिस्बन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन गरिने भएको छ ।
नेप्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त संयोजनमा राजधानी लिस्बनस्थित ‘सिनेमा आइडल’ मा यही अप्रिल २० र २१ तारिखका दिन प्रदर्शन गरिने भएको हो । कप्तान एञ्जिलाको विशेष उपस्थितिमा चलचित्र प्रदर्शन गर्न लागिएको पोर्चुगल संयोजक अरुण राईले जानकारी दिनुभयो ।
नेपाली चलचित्रको प्रबर्द्धन गर्न र कप्तान सुब्बालाई प्रोत्साहनका साथै घर निर्माणमा सहयोग गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको राईले बताउनुभयो । उहाँले चलचित्र हेरेर राष्ट्रिय फुटबल टिमकी कप्तान सुब्बालाई प्रोत्साहन गर्न र नेपाली चलचित्रलाई प्रबर्द्धन गर्न पोर्चुगलबासी नेपालीलाई आग्रहसमेत गर्नुभयो। चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको खेल जीवनको सङ्घर्ष र सफलतामा आधारित रहेको छ ।
एञ्जिला आफैंले प्रमुख भूमिका निर्वाह गरेको चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । मिलन चाम्सले निर्देशन गर्नुभएको चलचित्रलाई सुदीप बरालले छायाङ्कन र मिलन श्रेष्ठले सम्पादन गर्नुभएको छ।
मुनलभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल, टुबेन्द्र लिम्बु र राजेश बगडिया सह-निर्माता हुन् । उक्त चलचित्र गत फागुन २९ गते देखि नेपालसहित विश्वभर प्रदर्शनमा आएको हो ।