बुटवलको ट्राफिक व्यवस्थापन :  लोड अनलोडलाई सहज बनाउन आग्रह

प्रकाशित मिति:

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगरे कार्यालय प्रमुख एसपि श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो । बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै मालबस्तुको ढुवानी तथा डोडिङ अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मालबस्तु ढुवानीका साधन ट्रयाक्टर, छोटाहात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिकचोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ्ग गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजिकरण गरिदिन अनुरोध गरिएको छ । ज्ञापन पत्र बुझदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपि श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताउनु भयो । उहाँले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रुपमा सहजिकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुनेगरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गर्नुभयो ।

रुपन्देहीका उद्योगी व्यवसायी भन्छन्– सिमा नियमन अनुगमनमा कडाई होस्-रुपन्देहीका उद्योगी व्यवसायीहरुले संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिलाई खुला सिमाका कारण नेपाली सिमावर्ती बजार प्रभावित भएको बताउँदै सिमा नियमन अनुगमनमा कडाई गर्नुपर्ने सुझाव दिएका छन् ।समिति अन्तरगत पर्ने उद्योग, वाणिज्य, श्रम तथा मुल्य बृद्धिको अवस्थाको अध्ययनका लागि आएको संसदीय समितिले बिहिबार बुटवल उद्योग वाणिज्य संघमा गरेको अन्तरक्रिया छलफलमा यस क्षेत्रका उद्योगी व्यवसायीहरु आन्तरिक उत्पादन तथा नेपाली उद्योगबाट आत्मनिर्भर भएका माल बस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने समेत बताएका हुन् ।
उद्योगी व्यवसायीहरुले सुशासन र पारदर्शीतालाई जोड दिँदै निजी क्षेत्रको आग्रहमा कानुन संशोधनका कुराले आशा जगाएको र यो आशा भरोसालाई कायम राख्नको लागि कानुनको कार्यान्वयनमा जोड दिईएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।त्यस अवसरमा उक्त संसदीय समितिका सभापति अब्दुल खानले पछिल्लो समय सिमेण्ट तथा डण्डीमा अस्वभाविक रुपमा मुल्य बृद्धि भएकोमा धेरैको चासो रहेको बताउँदै समितिले त्यसबारे अध्यन गरेर सरकारलाई यथार्थ जानकारी गराउने बताउनु भयो । उहाँलले कानुन निर्माण तथा सुधारको प्रमुख कार्यभार संसदीय समितिको भएको बताउँदै नीतिगत सुधारका लागि संसदीय समितिलाई यथार्थपरक रुपमा जानकारी गराउन पनि आग्रह गर्नुभयो । समितिका सभापति अब्दुल खानको नेतृत्वमा समितिका सदस्यहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रमा कोईराला पौड्याल, रुक्मणी राना बराईली, रेखा यादव, हेमराज राई सहितको टोलीले लुम्बिनी प्रदेश सभाका सदस्यहरुसंग अन्तरक्रिया गर्नुका साथै यस क्षेत्रमा रहेका भैरहवा भन्सार, महेशपुर भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), बन्द रहेको बुटवल धागो खारखाना, होङ्सी सिमेन्ट कारखाना, धौवादी फलाम कम्पनी लगायतको स्थलगत अवलोकन गर्नुका साथै उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया छलफल गर्ने कार्यक्रम रहेको छ ।