
बुटवलमा भब्यताकासाथ मनाइयो जितगढी विजय उत्सव, जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपर्नेमा जोड
बुटवल,७ बैशाख । नेपाली सेनाले तत्कालीन अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा आज बुटवलको जितगढीमा विजय उत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको जितगढी विजय उत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले देशको राष्ट्रियतासँग जोडिएको ऐतिहासिक महत्त्वको जितगढी किल्लालाई बर्षमा एक दिन सम्झेर मात्रै नपुग्ने भन्दै यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउनुकासाथै अन्तर्राष्ट्रिय स्तरमा ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय गौरवको जितगढी किल्लालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन संघीय सरकारसँग पहल गर्ने प्रतिवद्वता जनाए । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए ।
उनले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गर्ने प्रतिवद्वता ब्यक्त गरे ।मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताए । आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उनले भने- उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ । त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताए । बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्ला राष्ट्रवादीहरूका लागि महत्त्वपूर्ण तिर्थस्थल भएको भन्दै यसको संरक्षण र विकासमा प्रदेश र संघीय सरकारले बिशेश ध्यान दिनुपर्नेमा जोड दिए । जितगढी किल्ला बुटवल र रूपन्देहीवासीका लागि मात्रै नभएर राष्ट्रिय महत्त्वको ऐतिहासिक स्थल रहेको स्मरण गर्दै नगर प्रमुख पाण्डेयले यसको संरक्षण र पर्यटकीय विकासका लागि प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने बताए ।
प्रदेश सरकारको सहयोगमा जितगढी युद्ध संग्रहालय भवन निर्माण भए पनि त्यहाँ राख्ने युद्ध सामाग्रीको अभावमा संग्रहालय सञ्चालनमा आउन नसकेको गुनासो गर्दै नगर प्रमुख पाण्डेयले त्यसलाई सञ्चालनमा ल्याउन आवश्यक बजेट ब्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग माग गरे ।उनले जितगढी-नुवाकोट सुरूङ मार्गको उत्खनन गर्ने ब्यवस्था मिलाउन र कर्णेल उजिरसिं थापालाई राष्ट्रिय बिभुती घोषणा गर्न समेत माग गरे ।बुटवललाई देशकै महत्त्वपूर्ण आर्थिक केन्द्रको रूपमा विकास गर्ने योजना अनुसार आफुहरूले बिभिन्न प्रयासहरू जारी राखेको भन्दै नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्यका अलावा धार्मिक पर्यटनको माध्यमबाट पनि आर्थिक विकास गर्ने योजना बनाइएको बताए ।सो अवसरमा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,रूपन्देहीका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल,रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतले जितगढी किल्लाको ऐतिहासिक महत्व र यसको संरक्षण र विकास बारे आ आफ्नो भनाइ राखेका थिए ।
जितगढी विजय उत्सवकै अवसरमा आज बिहान बुटवलको अस्पताल लाइनमा नेपाली झन्डा झन्डोत्तोलन गर्नुका साथै गोरखाबाट आएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्री टोलीलाई बुटवलमा स्वागत गरिएको थियो ।नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि।सं। १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो ।
वि सं १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि।सं। १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि।सं। १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो । अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।