प्रकाश न्यौपाने
बैशाख ९ गते
नवलपरासी । प्रतापपुर गाउँपालिका सभाहलमा सोमबार इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउण्डेसन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिने “प्रेरणा परियोजना”को प्रारम्भिक बैठक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा परियोजनाले सन् २०२५ देखि २०२८ सम्म उपेक्षित उष्णप्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य, अपांगता समावेशी विकास र स्वास्थ्य प्रणाली सुदृढिकरणमा केन्द्रित रहेर सञ्चालन गरिने गतिविधिहरूको विस्तृत समीक्षा गरिएको थियो।
परियोजनाका जिल्ला संयोजक माधव खनालले परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोगबाट प्रभावित वा जोखिममा रहेका समुदायहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्य लिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य प्रणालीका सरोकारवालाको जवाफदेहिता बढाउने, आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षा अधिकारमा समुदायको पहुँच अभिवृद्धि गर्ने र समुदायलाई सक्रिय परिवर्तन एजेन्टका रूपमा तयार पार्ने परियोजनाको उद्देश्य रहेको बताउनुभयो।
कार्यवाहक अध्यक्ष बिमलचन्द्र घिमिरेका अनुसार, परियोजनाबाट विशेषगरी रोगबाट प्रभावित व्यक्ति, अपांगता भएका व्यक्ति र तिनका परिवार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, जोखिममा रहेका समुदाय, गर्भवती र सुत्केरी महिला लाभान्वित हुनेछन्।
साझेदार संस्थाका प्रतिनिधि तुलसिराम खनालले स्वास्थ्य व्यवस्थापन प्रणाली सुदृढिकरण, सामाजिक सशक्तिकरण, प्रविधिक सहयोग तथा पैरवी, सरोकारवालासँग समन्वय, सहकार्य र साझेदारीलाई परियोजनाको रणनीति रहेको बताउनुभयो।
लेखा अधिकृत दधिराम पौडेलका अनुसार, परियोजनाले सातवटै पालिकामा चार वर्षको अवधिमा पूर्ण संस्थागत सुत्केरी घोषणा, सरसफाइ तथा कीटजन्य गतिविधिको रोकथाम, उपेक्षित उष्णप्रदेशीय रोगको पहिचान तथा निदान, सामुदायिक सचेतना, विद्यालय शिक्षा कार्यक्रम र अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरणजस्ता गतिविधि सञ्चालन गर्नेछ।