उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन सम्पन्न

प्रकाशित मिति:

 

पोखरा, वैशाख ९ – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत सोमबार एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू सम्पन्न भएका छन्।

महायज्ञका लागि प्रारम्भमा विरौटामा तय गरिएको स्थानमा गत चैत २३ गते भूमिपूजन गरिएको थियो। तर, विभिन्न कारणले स्थान परिवर्तन भई पोखरा–६, लेकसाइडस्थित बाराहीघाटमा महायज्ञ सारिएको हो। स्थान परिवर्तनपछि आज बिहान बाराहीघाटमा क्षमा पूजन सम्पन्न गरिएको छ।

यसपछि महायज्ञ हुने श्री सिद्धेश्वर हरिहर मन्दिरको परिसरमा बिहान ११ बजेर १ मिनेटमा शुभ साइतमा भूमिपूजन गरिएको हो। भूमिपूजन नेपाल पञ्चाङ्ग विकास समितिद्वारा प्रदान गरिएको उत्तम साइतमा सम्पन्न गरिएको हो।

त्यस्तै, बिहान ११ बजेर ११ मिनेटमा वैदिक विधिअनुसार यज्ञ कुण्ड खनन समेत सम्पन्न गरिएको छ।

भूमिपूजन समारोहमा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगर–१७ का अध्यक्ष राधिका शाही, वडा भित्रका सामाजिक संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधिहरू, र स्थानिय श्रद्धालुहरू सहभागी थिए।

श्री गण्डकी कोटिहोम महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छ्न ।