बैठकमा पर्यटनमन्त्रीको बचाउ भएपछि कड्किए मिनेन्द्र

प्रकाशित मिति:

काठमाडौं,२० पुस – नेकपाका सांसदहरुले वाइडवडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाउ गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रतिवाद गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसदहरुले लगातार उपसमितिको प्रतिवेदनमा प्रश्न उठाएपछि कांग्रेस नेता रिजालले दलीय आवद्धताका आधार नहेर्न आग्रह गरेका हुन् । कुन निर्णय कतिबेला भयो भन्ने मुख्य हुने उनको तर्क छ । ‘कुन एक्टर कुन बेला कसरी प्रवेश गरेका छन्, हामीले ध्यान दिनुपर्ने हुन्छ’ सांसद रिजालले भने ।

उपसमितिको प्रतिवेदन आइसकेपछि सरकारले आयोग बनाएको भन्दै उनले सरकारले आयोग बनाइसक्यो भन्दैमा लेखा समिति मौन बस्न नसक्ने बताए । ‘सरकारले जेजे कमिटी बनाउँछ बनाइराखोस्, अख्तियारले गर्ने छानविन रोक्न पाइँदैन’ उनले भने, ‘को मानिस कुन दलको हुनुहुन्छ भनेर प्रतिवेदन लेख्न थालियो भने लेखा समिति मात्र होइन, संसदको पनि उपदेयता हुँदैन ।’ कांग्रेसका अर्का सांसद तेजुलाल चौधरीले पनि सांसदहरु जति उफ्रिए पनि भ्रष्टाचार भएको प्रष्ट भइसकेको दाबी गरे । महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा विमान खरिदमा गल्ती औल्याइसकेपछि भुक्तानी दिनु गम्भीर भएको उनले बताए ।