बुटवलमा राष्ट्रिय गणित सम्मेलनको आयोजना हुँदै

प्रकाशित मिति:

नेपाल गणित समाज (Nepal Mathematics Council) ले बुटवलमा हुने आफ्नो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । पौष २८ गतेदेखि माघ १ गतेसम्म संचालन हुने उक्त कार्यक्रममा देशभरका +२ तथा क्याम्पसहरुबाट करिब २५० गणितकर्मीहरुको जमघट हुनेछ ।अतिनै विशिष्ट र गाह्रो विषयको रुपमा लिइने गणित विषय सर्वव्यापी भएर पनि लोकपृय र सरलीकृत बन्न नसक्नुका पछाडिका कारणहरु खोतल्ने, गणित पठनपाठनलाई तल्लो तहबाटै अवधारणागत रुपमा स्पष्ट पार्दै गणितप्रतिको दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको बताइएको छ ।चार दिनसम्म संचालन हुने उक्त कार्यक्रमको प्रथम दिन त्रिभुवन विश्वविद्यालयका गणित विषयका वरिष्ठ प्राध्यापकहरुद्वारा बुटवल बहुमुखी क्याम्पसमा एक कार्यशाला गोष्ठीको आयोजना गरिने स्थानीय व्यवस्थापन समितिका संयोजक न्यू होराइजन कलेजका सहायक क्याम्पस प्रमुख गोपाल प्रसाद आचार्यले जानकारी गराए ।

पौष २९, ३० र माघ १ गतेसम्म बुटवलको एभिन्यू होटलमा संचालन हुने उक्त कार्यक्रमको सहआयोजकको रुपमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं. ५ रहेका छन् ।प्रदेश नंं. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने उक्त कार्यक्रममा नेपालभरीका १ सय भन्दा बढी गणितज्ञहरुले गणित, विज्ञान, गणित शिक्षण तथा गणित–विज्ञानमा हाल भएका अनुसन्धानहरुसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत गर्ने बताइएको छ ।

उक्त कार्यपत्रहरु ३ वटा समानान्तर कार्यक्रमहरुमा प्रस्तुत हुने संयोजक आचार्यले बताए । यसको साथै भारतका विभिन्न विश्वविद्यालयबाट समेत कार्यपत्रहरु प्राप्त भइसकेकाले यो गणित सम्मेलन यस क्षेत्रको अनुसन्धानमूलक कार्यक्रमको हिसाबले प्रथम र अभूतपूर्व हुने दावी स्थानीय आयोजकको रहेको छ ।
कार्यक्रममा विभिन्न सेसनहरुमा दिल्ली तथा मेरठ विश्वविद्यालयबाट समेत आउने गणित विषयका प्राध्यापकहरुले समेत आफ्ना प्रस्तुतीहरु राख्ने बताइएको छ । सहभागिता, कार्यक्रम र उद्देश्यका हिसाबले यो कार्यक्रमले यस क्षेत्रको गणितविषयको अध्ययन अनुसन्धान र पठनपाठनमा मौलिक परिवर्तनहरु ल्याउने विश्वास गरिएको छ ।यस अघि कार्यक्रमको सफलताको निम्ति गणितविषयका प्राध्यापकहरुको एक भेलाले गत असोजमा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक अमरेन्द्र कुमार सिंह संयोजक रहेको आयोजक समिति अन्तर्गत स्थानीय व्यवस्थापन समिति, प्रचारप्रसार समिति र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको थियो ।

स्थानीय व्यवस्थापन समितिका संयोजक न्यू होराइजन कलेजका गोपाल प्रसाद आचार्य, प्रचारप्रसार समितिको संयोजकमा तिलोत्तमा कलेजमा तुल्सी प्रसाद सापकोटा तथा आर्थिक व्यवस्थापन समितिका संयोजकमा भैरहवा बहुमुखी क्याम्पसका पिताम्बर तिवारी रहेका छन् । सम्मेलनको अन्तमा नेपाल गणित समाज अन्तर्गत प्रदेश नं. ५ को नेपाल गणित समाज च्याप्टर नं. ५ गठन गर्ने जानकारी गराइएको छ ।