युवामा स्टन्ट मोह ,एउटै गुनासो ‘राज्यले चिनेन, परिवारले साथ दिएन’

प्रकाशित मिति:

सञ्जु पौडेल , सामाजिक संजाल अनि टेलिभिजनमा हेर्दा कस्तो गर्न सकेको होला भन्ने लाग्ने दृश्य आफैले देखेपछि सांच्चै खतरा हुने रैछ भन्ने लाग्ने स्टन्ट राईडिङ पछिल्लो समय नेपालमा पनि युवा वर्गमा लोकप्रिय बन्दै गएको छ । फलानाको छोरा बिग्रिएछ मोटरसाईकल उडाएर हिँड्छ भन्ने समाजमा बस्ने हामीले स्टन्टलाई नियाल्दा थाहा पाउन सक्छौं सांच्चै यो गर्नलाई हिम्मत अनि चाह दुवै चाहिन्छ र यो गर्ने युवा बिग्रिएका होइनन् झन् हिम्मतिला अनि केही गर्छौं भन्ने सोंच बोकेका हुने रहेछन् ।

अनिल चौधरी, उनकोे परिवारका कान्छा छोरा । उनका ३ जना दाईहरु छन् । सानै उमेरबाट छोरा मान्छेको रहर सवारी साधन चलाउन तर्फ हुनु नौलो कुरा रहेन । उनले पनि घरमा मोटरसाईकल भएकाले नपाइरहँदा कसैलाई थाहा नदिएरै लुकी लुकी सानैमा चलाउन सिके । कक्षा ७ मा पढ्दा नै मोटरसाईकल सिकेका उनको यसमा यति लगाब बस्यो कि उनले मोटरसाईकलको स्टन्ट सिक्न थाले । सिकाईको निरन्तरताले अनिल र उनीसँगै स्टन्ट सिक्ने युवाहरुको समूह बन्यो । समूहको नाम राखियो मम्स राईर्डज (Mom’s Ryderz)।  स्टन्ट गर्ने क्रममा पहिलो पटक ईटहरी गएर उनले स्टन्ट देखाए । उक्त प्रतिस्प्रर्धामा मेडल हाता पारेका उनले त्यो मेडल लिएर घर आएपछि अनिलको परिवारलाई थाहा भयो, अनिल भन्छन् ‘घरमा बल्ल स्टन्ट राम्रै गर्दो रहेछस् भन्नुभयो’ त्यसपछि भने उनले परिवारको साथ पाउन थाले । उनका साईला दाईले उनलाई अल्लि बढि साथ दिए । उनले स्टन्टका लागि घरबाटै नयाँ मोटरसाइकल समेत पाए । स्टन्ट गर्ने क्रममा घरबाट धेरै टाढा समथर ठाउँ खोजेर सिकेका ती दिन सम्झिँदै भन्छन् ‘संर्घष गरेर सिकेको यो सिकाई व्यवसायिक बनाउन नसकिएकोमा चिन्ता छ ।’ उनले स्टन्ट सिक्दा खुट्टा भाँचे, हातमा चोट लायो र पनि छोडेनन् किनकी यो उनको भित्रै देखी आएको चाहना थियो ।

पहिले पहिले उनी र साथीहरु हरेक दिन स्टन्ट गर्थे, सिक्थे जुन हेर्न अन्य युवाहरुको भिड जम्मा हुन्थ्यो । उनको स्टन्टबाट प्रभावित भएर अर्का युवा विशाल क्षेत्री पनि तानिए । कक्षा १२ सकाएका विशाल पनि घरमा लुकेर छिमेकी दाईको मोटरसाईकल चलाउँथे । घरमा भएको स्कुटर चलाउन नपाएका उनले मोटरसाईकल सिकिसकेका थिए र स्कुटर चोरेर चलाउन र उडाउन थालेका उनले स्कुटर बिगार्ने र फुटाउने गरे पछि उनले स्टन्ट गर्न थालेको कुरा घरमा थाहा भयो । ‘रहरै त हो गाली सुने नसुनेझैं अघि बढँे ’ बिशाल भन्छन्‘ एसएलसी पास भएपछि विशालले मोटरसाईकल किनिदिन कर गरें ।’ उनले मोटरसाईकल पनि पाए तर स्टन्ट गर्नेहरुलाई मोटरसाईकल बाट स्टन्ट गर्दा धेरै पटक बिग्रिने र बनाउनुपर्ने समस्याले सताउँछ । जसका लागि आर्थिक पाटो बलियो हुनैर्पछ । त्यो पाटोमा सहयोगी बन्ने अभिभावक हुन् । ‘मोटरसाईकलको स्टन्ट गर्ने भनेपछि अभिभावकले चापी नदिने, नचलाउन भन्ने गर्नुहुन्थ्यो’ बिशाल भन्छन् ‘तर स्टन्टको हट छाडिन् ।’ १९ वर्षका उनलाई आफू भन्दा सानाले अनि साथीभाईले वाह वाह भनिदिंदा अझ उत्साह थपिदोरहेछ, आमाले केही सहयोग गरेपनि दाइ र बुवासँग डराउने उनी अहिले सम्म परिवारबाट सपोर्ट पाएका छैनन् ।

तर अर्का स्टन्ट राइडर सन्दिप बिसीको कथा भने फरक छ कक्षा १२ मा अध्ययनरत सन्दिप बिसीलाई घरको भरपुर साथ छ । त्यति मात्र हैन त्यही रहर र परिवारको साथले उनलाई अहिले टिभिएस कम्पनीको स्टन्ट राईडर बनाएको छ । उनका दाजु दिपेन्द्र विसी पनि काठ्माण्डौमा स्टन्ट राईडर नै छन् । कक्षा ८ सकेर विदामा काठ्माण्डौ गएका उनले दाजुको स्टन्ट हेरेर केही सिके अनि आफूले पनि गर्न चाहे । फर्केर आएपछि १० सम्म पढाईमै व्यस्त भएका उनी फेरि काठ्माण्डौ गए र त्यहींबाट उनले स्टन्ट गर्न मोटरसाईकल किनेर ल्याए । विदामा सिक्न जाने उनी अहिले स्टन्टका धेरै लेभलहरु गर्छन् । पारिवारिक साथले होला उनको सिकाई अलि बढी नै हुने गर्छ । सन्दिप भन्छन् ‘मोटरसाईकल बिग्रिए बनाईहाल्छु, स्टन्ट गर्न छोड्न सक्दिन ।’ गर्नेलाई सहयोग गर्नेहरु पनि भेटिन्छन् मोटरसाईकल बिग्रिंदा देउराली मोटरसाईकलले नियमित बनाई दिएर गुन लगाएको छ । ‘पहिले पहिले मोटरसाईकलको चक्का घिस्रिएर बिग्रिंदा कसरी बिगारिस् रु भन्ने अभिभावकले टायर बिग्रिएछ बनाएर चला, भन्ने उत्तर पाउँदा स्टन्ट प्रतिको मोह अझ बढ्छ ’ सन्दिप थप्छन् ‘अहिलेसम्म स्टन्ट गर्दा एकपटक पनि चोट बेहोरेको छैन’ । उनी स्टन्टलाई जीवनको अग्र पंक्तिमा राख्छन् । उनी भन्छन् ‘समयसंगै स्टन्ट पनि प्रख्यात हुँदै जाला ।’ स्टन्टमै रमाउने अर्का युवा हुन् अशिफ खान । भैरहवाका उनी पनि अरुजस्तै रहर बोकेर स्टन्ट सिक्ने गर्थे । स्टन्ट सिक्नकै लागि घरमा अन्त जाने भनी हिँड्ने उनले मोटरसाईकल बिग्रेर बनाउनका लागि ग्यारेजमै काम गरेर स्टन्ट गर्दै मोटरसाईकल बनाउँदै गरे । अशिफ को स्टन्ट गर्ने कुरा घरमा थाहा भएपछि एक महिना मोटरसाईकल चलाउन बन्द भएको थियो । पछि उनका अभिभावकले चापी दिन बाध्य भए । उचाईले पनि साथ दिने अशिफको स्टन्ट हेर्न चाहने फ्यान भैरहवामा धेरै छन् ।’

बिज्जु गुरुङको कथा पनि उस्तै उस्तै छ । बुवा लाहुरे अनि आमाको माया पाएका उनले घरकै मोटरसाईकल सिकेर जानेका थिए । स्कुटरबाट स्टन्ट सिक्न शुरु गरेका उनले स्टन्ट गरेको बुवालाई थाहा भएर पनि नभएकोजस्तो गरेको बताउँछन्, भन्छन् ‘तर गरिछस् भनेर स्याबासी दिनुहुन्न ।’ पारिवारिक साथ नै महत्वपूर्ण हुने बुझेका बिज्जु जाडोमा जागिरै नगएर स्टन्टमा रमाउँछन् , किन त रु चार बर्ष देखी स्टन्टमा लागेका बिज्जु भन्छन् ‘ किनकी जाडो याममा स्टामिना ले स्टन्ट गर्न साथ दिन्छ’ ।  अब अनिल तिरै फर्कौं , उनीबाट प्रभावित यी त केही उदाहरण मात्र हुन् । ‘भाईहरुले गरेका कति नयाँ मुभ्सहरु सिक्ने मौका पाईराएको छु मैले जानेको सिकाउँछु ’ अनिलले केही गुनासो थप्दै भन्छन् ‘ तर सात वर्षको अवधी भईसक्दा पनि स्टन्ट राईडिङले त्यती फड्को मार्न नसकेको अवस्थाले चिन्तित बनाउँछ ।’
सबै स्टन्ट राईडर्सको एउटै आवाज छ त्यो हो यसलाई सरकारी तबरबाटै खेलमा समावेश गराईयोस् अनि यसका लागि आवश्यक मोटरसाईकलको बनावटमा रोक नलगाईयोस् । यसका लागि स्टन्टको एरिया तोकेर कानूनी प्रावधान अनुसार गर्न पाईयोस् । स्टन्ट गर्न चहानेले पनि निश्चित ठाउं जहां स्टन्टको लागि उपयुक्त बनाईएको छ त्यंही गएर गर्ने गर्नुपर्छ । प्रहरी प्रशासनले स्टन्ट गर्नेलाई सहयोग गरोस् । हिँजो आज विभिन्न मोटरसाईकलको प्रचारका लागि स्टन्ट राईडिङलाई समावेश गराउने गरिएपनि कुनै पनि कम्पनीले नेपाली स्टन्ट राईर्डसलाई उचित मूल्य दिएर बोलाएको नपाइएको उनीहरुको गुनासो छ । उनीहरुको मेहनत र स्टन्ट गरेपछि मोटरसाईकलमा देखिने खराबी बनाउन लाग्ने र्खचको केही थाहा नै हुन्न । यिनै उदाहरणहरुले घरमा पैसा माग्न नसकेर हातको बाला, मोबाईल बेचेर पनि मोटरसाईकल बनाएको समय पनि छ । संगसंगै उनीहरुको मोटरसाईकल र उनीहरुलाई प्रहरीले कतिपटक छोपेको कथा पनि छ । स्टन्ट गर्दा शारिरिक समस्या आउन नदिन शरिरको उचित ब्यालेन्स सबैभन्दा महत्वपूर्ण हुन्छ । साथमा थ्रोटल र ब्रेकिङ पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । सुरक्षाका लागि नि गार्ड, हेल्मेट, हातमा पन्जा, ब्याक प्रोटेक्टर, राईडिङ ज्याकेट,फुल सुज, हेन्डगार्ड आदिको प्रयोग अनिवार्य मानिन्छ । स्टन्टका केही लेभल छन् । ती बेसिक, कम्पास, जिरो सर्कल, व्हीली, स्टबी आदि हुन् । स्टन्ट राईर्डसहरु अहिलेका अभिभावकले स्टन्टलाई पनि सकारात्मक रुपले हेरिदियो भने समाजलाई कर लाग्छ राम्रो भन्ने चाहन्छन् । होइन भने अरु खेल जस्तै स्टन्ट गरेर रमाउन चाहने छोराछोरीको मन मा पिडा हुनु कुनै अभिभावकलाई सह्य हुन सक्दैन होला । सबैले छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्रै बन्न कर गरी पढाउने प्रवृत्ति केही घटेपनि उनीहरुको चाहलाई पूर्ण रुपमा सहयोग नर्गदा बालबालिकाको मनोभावनामा नकारात्मक असर पर्न सक्छ ।