सरकारको प्रगतिबारे संसद्मा प्रधानमन्त्रीको व्याख्या, हरेक दिन एक कदम अगाडि !

प्रकाशित मिति:

पुस २२, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएयता देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सार्वजनिक महत्त्वको विषयमा मन्तव्य दिँदै ओलीले यसवर्ष आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको बताउनुभयो ।  अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको प्रधानमन्त्री ओलीको दाबी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत यसवर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण गरेको र यो अहिलेसम्मकै धेरै भएको ओलीको दाबी छ ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको र सन् २०१९ को अगष्ट महिनाभित्र उत्पादन शुरू गर्नेगरी काम भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । पूर्वपश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र बुटवल कञ्चनपुर खण्डको प्रतिवेदन तयारीको काम भइरहेको बताउनुभयो । सरकारले धानको समर्थन मूल्य र उखुको खरिद मूल्य पनि निर्धारण गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको यात्रा प्रगतिउन्मुख रहेको दाबी गर्नुभयो । सरकार विकासको कामका हरेक दिन एक कदम अगाडि भन्ने नीति लिएर अगाडि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।