बिमाबारे सचेतना फैलाउँदै धुर्मुस-सुन्तली, रक्सी खाने पैसा बिमा गर्न सुन्तलीको सुझाव

प्रकाशित मिति:

पुस २२,  डोटी – सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।  एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गरे ।

‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बिमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भनिन्, “रक्सी–जाँड खाने पैसाले अब बिमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बिमा गर्न आग्रह गरिन् । दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बिमा समेत गराएका छन् ।