फागुन २५ गते देखि नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने

प्रकाशित मिति:

आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने भएका छन् ।शनिबार काठमाडौंमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले दुईवटा खेल थप गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सदस्य राष्ट्रहरुको अनुरोधमा भएको छलफलपछि क्रिकेट र प्याराग्लाइडिङ थपिएको हो ।क्रिकेटमा ओलम्पिक टोली अर्थात यू–२३ टिमबीच प्रतिस्पर्धा हुने छ । दुर्इ खेल थपिएपछि दक्षिण एशियाली खेलकुदमा २७ खेलमा स्पर्धा हुने भएको छ ।

काउन्सिलको यसअघि बसेको बैठकले २५ खेल खेलाउने निर्णय गरेको थियो । जसमध्ये कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गरेको थियो ।काउन्सिलको बैठकले २७ खेलका इभेन्टहरु पनि निर्धारण गरेको छ । नेपाल ओलम्पिक कमिटीले भोलि पत्रकार सम्मेलनमार्फत यसको जानकारी गराउने छ । १३औं दक्षिण एशियाली खेलकुद काठमाडौं र पोखरामा आयोजना हुनेछ ।यसका लागि अहिले पूर्वाधार निर्माण भइरहेको छ ।राष्ट्रिय खेलकुद परिषद्ले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाइसकेको छ ।

१३औं साग गेम्समा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा हुनेछ ।