जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जान्छ : प्रचण्ड

‘आफ्नो कमजोरीप्रति आत्मआलोचना गर्न सक्नुपर्छ, हामीमा घमण्ड, अभिमान आयो, जनताका कुरा सुन्न छाड्यौं भने प्रतिक्रान्तिकारी शक्तिले उपयोग गर्छन् ।’

प्रकाशित मिति:

बुटबल पौष २२ /

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने बताएका छन् ।

पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी ताकतसहित लागेको उल्लेख गर्दै उनले कमजोरीलाई आत्मसाथ गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकुल अवस्था आउन सक्ने औंल्याए ।


बुटवलमा आयोजित लोक अभियान पाक्षिक पत्रिका विमोचन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै दलप्रति इंगित गर्दै भने ‘आफ्नो कमजोरीप्रति आत्मआलोचना गर्न सक्नुपर्छ, हामीमा घमण्ड, अभिमान आयो, जनताका कुरा सुन्न छाड्यौं भने प्रतिक्रान्तिकारी शक्तिले उपयोग गर्छन् ।’

क्रान्ति पूर्ण सफल नभएको बताउंदै प्रचण्डले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने उल्लेख गरे । हिजोका शासकलाई कम्युनिष्ट शक्ति सत्तामा आएको मन नपरेको र गुमेको शक्ति पुनर्स्थापित गर्ने कसरतमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । उनले थपे, कम्यूनिष्टले अघि सारेको पाईलाले सम्वृद्धि आउनेछ र त्यो प्राप्तीका लागि हरेक नागरिकको साथ आवश्यक छ ।