बार्सिलोना उकालो लाग्दा उल्टो बाटोमा रियाल, मेस्सी र सुआरेजले देखाए के छ मड्रिडमा कमी !

प्रकाशित मिति:

पुस २३, काठमाडौं – महान् खेलाडीहरूले खेल जिताइदिन्छन् । कहिलेकाहीँ फूटबल त्यति सजिलो हुन्छ । लियोनेल मेस्सीको रूपमा बार्सिलोनाले सर्वकालीन महान् खेलाडी पाएको छ । अनि उनका साथी खेलाडी लुइस सुआरेज पनि लर्तरा खेलाडी हैनन् । यी दुईजनाले गेटाफेविरुद्धको खेलमा जादूयी खेल देखाएर बार्सालाई २–१ गोलको विजय दिलाए । एट्लेटिको मड्रिड र सेभिया अहिले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् र दुवै हिजो बराबरीमा रोकिएपछि बार्सिलोना निकटतम प्रतिद्वन्द्वीभन्दा प्रस्ट रूपमा पाँच अंकमाथि रही शीर्ष स्थानमा रहेको छ । अनि चिरप्रतिस्पर्धी रियाल मड्रिडभन्दा बार्सा प्रस्ट रूपमा १० अंक माथि छ । क्रिस्टियानो रोनाल्डो क्लब छोडेर गएका छन्, लुका मोड्रिच र मार्सेलो बूढा हुँदै गएका छन्, ग्यारेथ बेल घाइते छन् अनि अरू कुनै पनि खेलाडी फर्ममा छैनन् । त्यसैले रियालमा मेस्सी र सुआरेजको जस्तो जादू उत्पन्न गर्ने कुनै पनि खेलाडी नै भएनन् । त्यसैले गर्दा त उनीहरू पाँचौं स्थानमा छन् । उनीहरू धूलोमा लडीबुडी गरिरहँदा प्रशिक्षक स्यान्टियागो सोलारी टचलाइनमा टीठलाग्दो गरी हात हल्लाइरहेका थिए अनि रियाल मड्रिड रियाल सोसीडाडसँग २–० को अन्तरले हार्न पुग्यो ।

उता बार्सिलोनाको कुरा गर्दा गेटाफेको मैदानमा घरेलु टोलीले खेलको शुरूआतमा आफ्नो मजबूती देखायो । आर्टुरो भिडालले एन्जल रोड्रिगेजमाथि फल गरेकोमा गेटाफेले पेनाल्टी पाउनुपर्थ्यो । अनि उनीहरूले गरेको गजबको गोललाई क्लेमेन्ट लेङ्लेटमाथिको फलका कारण मान्यता दिइएन । खेलको शुरूतिर बार्सिलोनालाई गेटाफेले नियन्त्रण गरेकै हो । ला लिगाको दोस्रो सबभन्दा कडा डिफेन्स रहेको गेटाफेले उपाधिविजेता बार्सालाई अप्ठ्यारै पार्ने स्थिति देखाएको थियो । तर जोसे बोर्डलासको व्यवस्थापनमा रहेका गेटाफेका खेलाडीहरूले मेस्सीको जस्तो क्षमता भएका खेलाडीलाई प्रत्येक हप्ता सामना गर्नुपर्दैन । मेस्सीले तीव्र गतिमा दौडिँदै गेटाफेको डिफेन्स तहसनहस पारे । उनले उडेर आएको बल लिनका लागि दुई डिफेन्डर र गोलकीपरलाई छक्याए, आफ्नो सन्तुलन कायम राखे र शान्त भएर गोलकीपर डेभिड सोरियाको गोडामुनिबाट बल छिराइदिए । यो गति, कलात्मकता र अवसरको सदुपयोगको अनुपम नमूना थियो र संसारका अन्य कमै खेलाडीले यस्तो गोल गर्न सक्छन् ।

अनि सुआरेजले गरेको गोल पनि त्यस्तै थियो । गेटाफेले बार्सिलोनालाई कमै मात्र प्रस्ट अवसर दिएपछि सुआरेजले केही फरक गर्ने सोचे । सुआरेजले पेनाल्टी एरियाबाट कडा भली हानेर मास्तिरको कुना च्यापेर बल प्रहार गरे र त्यो खतरनाक गोलमा परिणत भयो । गेटाफेले पहिलो हाफअघि एक गोल फर्कायो । पोस्टमा ठोकिएको केही क्षणपछि जाइम माताले गोल गरे । गेटाफेको कडा आक्रमणले बार्सिलोनालाई असहज बनायो । कुनै अर्को दिन भएको भए गेटाफेले खेल बराबरी गरिदिन सक्थ्यो । माताले बार्साका गोलकीपर मार्क–आन्द्रे टेर स्टेगेनलाई झुक्याइसकेका थिए तर माथिबाट उडाउन पुगे । तर बार्सिलोनाका स्टार खेलाडीहरूले क्लबलाई जीत दिलाउन सफल भए अनि उपाधिमा आफ्नो नियन्त्रण झनै कसे । उता मड्रिडसँग यही गुणस्तरको अभाव छ । उनीहरूको माथिदेखि तलसम्मै समस्या छ । गोलकीपर थिबाउट कोर्टोआको प्रदर्शन ठीकै रहेपनि अरूले चाहिँ आफ्नो खेलमा सुधार ल्याउनैपर्छ ।

रियाल सोसीडाडविरुद्ध मड्रिडले संघर्ष गर्दा भिनिसियस जुनियरको खेल चाहिँ राम्रो रह्यो । सान्टियागो बेर्नाबेउमा आएका मड्रिड समर्थकका लागि खुशीको कुरा भिनिसियसको खेल मात्र रह्यो । तर अनुमान गर्न नसकिने १८ वर्षीय खेलाडीमा भर पर्नु कुनै गतिलो रणनीति हैन । प्रशंसकको कुरा गर्दा बेर्नाबेउमा धेरै दर्शक नै देखिएनन् । थुप्रै सीटहरू खाली थिए । रियालको हालैको प्रदर्शन गतिलो नभएकाले प्रशंसकहरू स्टेडियममा गएर हेर्नै चाहिरहेका छैनन् र यस सीजनमा क्लबमाथि काला बादल छाएका छन् । ‘हामीहरू उनीहरूलाई फर्काउने प्रयास गर्छाैं,’ सोलारीलाई समर्थकको बारेमा सोध्दा उनले भने । त्यसो त स्टेडियममा आएका समर्थक पनि खुशी देखिएनन् । उनीहरूले आफ्नै खेलाडीविरुद्ध सिट्ठी बजाए र यदाकदा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको राजीनामा माग्दै गीत गाए ।

मड्रिड संकटमा परेको जस्तो देखिन्छ तर आत्तिइहाल्नुपर्ने स्थिति पनि हैन । यस्तो स्थिति आउला भन्ने अनुमान पहिलेदेखि नै गरिएको हो । अघिल्लो सीजनमा उनीहरू बार्सिलोनाभन्दा निकै पछाडि थिए र त्यतिखेर त क्लबमा रोनाल्डो थिए । हुन त रोनाल्डो त्यतिखेर पनि मेस्सीको बराबरीमा थिएनन् तर उनले मेस्सीकै जति पाँचचोटि बालून दोर जितेकाले उनलाई पनि सम्मानकै दृष्टिले हेरिन्थ्यो । मड्रिडमा ब्राहिम डियाज आएका छन् । क्लबले रियाल सोसीडाडसँगको हारपछि उनलाई भित्र्याएको घोषणा गरेको थियो । तर म्यानचेस्टर सिटीका पूर्वखेलाडी डियाजसँग मड्रिडलाई उपाधि दिलाउने बाटोमा लाने सम्भाव्यता छ, शक्ति नै चाहिँ छैन । मड्रिडले यस सीजनको ला लिगा उपाधि जित्ने अपेक्षा गर्नु नै बेकार हो ।