वर्षा र हिमपातसँगै डडेल्धुरा सदरमुकाममा भिषण आगलागी

प्रकाशित मिति:

राम धामी/ डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा कठ्याग्रिने चिसो बढ्दै गएका बेला आईतबार मध्यराती सिमसिम पानी पर्न थालिसकेको थियो, उच्च पहाडी क्षेत्रमा भारी हिमपात शुरु भईसकेको थियो भने सदरमुकाममका मुख्य बजारहरुमा समेत हिउ फुसफुसाउन थालेको थियो । एकाएक मुख्य बजारमा फेरि आगलागी भएको हल्ला फैलियो । हरेक दिनझै स्थानीयसँगै सुरक्षाकर्मीहरु घटनास्थल पुगे । अमरगढी नगरपालिकाको दमकल पनि खबर पाउने बित्तिक्कै घटनास्थलमा पुग्यो । उद्धार कार्य जारी रह्यो । सदमुकाम बागबजारको बगरकोट रोडमा मध्यराती १२ः३० बजे भएको भिषण आगलागीका कारण अन्नतः ९ पसल जलेर नष्ट भएका छन् । दुई घण्टाको अथक प्रयत्नपछि आगलागी नियन्त्रणमा आएको छ ।

कठ्याग्रिने चिसोमा रातभर आगलागी नियन्त्रणका लागि खट्ने दैनिकी जस्तै भएको छ डडेल्धुरा सदरमुकामबासीको । डडेल्धुरा सदरमुकाममा आईतबार राती चौथोपटक भिषण आगलागी भएको हो । चौथोपटक आगलागीका क्रममा भने स्थानीय एक किशोरलाई आगलागी गराएको अभियोगमा प्रहरीले पक्राउ गरेकोछ । अमरगढी नगरपालिका –४ निवासी अन्दाजी १७ बर्षीय लुनिप रावललाई आगलागी गराएको अभियोगमा प्रहरीले पक्राउ गरेकोहो । आईतबार आगलागी भएका पसलहरुबाट भाडा उठाउने उनका सहोदर जेठाबुबा डम्मरबहादुर रावलले भाडावाफतको रकम आफ्नो परिवारलाई नदिएकाले रिसको झोकमा सबै पसलमा पेट्रोल छर्केर आगालगी गराएको अभियुक्त किशोरले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकोछ ।

आईतबार राती भएको आगलागीका सन्दर्भमा आगो लगाउने ब्यक्ति पक्राउ परेपनि यस अघि नियमित भएका श्रृखंलावद्ध आगलागीका घटनाहरुको वास्तविकता पत्ता लागेको छैन । सदरमुकाममा गतसाता देखि श्रृंखलाबद्ध रुपमा आगलागीका घटना हुन थालेपछि स्थानीय सन्त्रस्त बनेका छन् । चरणबद्ध रुपमा भईरहेका आगलागीका घटनाको कारण पहिचान हुन नसक्दा स्थानीय सन्त्रस्त बनेका हुन् । स्थानीय अगुवाहरुले आगलागीका घटनाको कारण पहिचान गर्न माग गरेका छन् । पुस १३ गते राती सदरमुकामको मुख्य बजार बागबजारकै न्यू लक्ष्मी किराना पसलमा भिषण आगलागी भएको थियो । प्रहरीले सो पसलमा भएको आगलागीका कारण ३५ लाख बराबरको क्षति भएको जनाएकोछ । गतसाता बुधबार र बिहीबार निरन्तर आगलागी भयो । बुधबार भएको आगलागीमा एक होटल पुर्णतया जलेर नष्ट भएको थियो भने बिहीबार तीन पसल जलेर नष्ट भएका थिए । चारओटै आगलागीका घटनामा हालसम्म १४ पसल जलेर नष्ट भईसकेका छन । चारै पटक भएको आगलागीका कारण झण्डै अढाई करोड बराबरको धनमाल क्षति भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन ।

दिनहुजसो आगलागीका घटना हुन थालेपछि डडेल्धुरा सदरमुकामका बासिन्दाहरुले गम्भीर छानबिन गरिनु पर्ने आवाज उठाउन थालेका हुन । श्रृखंलावद्ध आगलागीको घटनामा कुनै आपराधिक तत्व सक्रिय रहेको हुनसक्ने स्थानीयको आशंकाछ । सदरमुकाममा दिनहु जसो आगलागीका घटना हुन थालेपछि आफ्नो पसलमा पनि कति खेर आगलागी हुने भन्दै स्थानीय ब्यवसायी त्रसीत बनेका छन् ।

साझ बन्द गरेको पसल बिहान दुरुस्त पाईने वा नपाईने भन्ने अवस्थाका कारण व्यवसायीहरु निकै सन्त्रस्त भएको उद्योग वाणिज्य संघ डडेल्धुराका प्रथम उपाध्यक्ष भोजराज भट्टले बताए । बजार क्षेत्रमा राती १० बजेपछि प्रहरीको गस्ती पनि न्यून हुने भएकाले आपराधिक समुहले मौका छोपी आगो लगाउँने गरेको हुनसक्ने उनी बताउछन ।