वन समितिबाट राजीनामा दिनेलाई एमालेको कारबाही, बिवाद मिलाउन प्रयासै नगरि कारबाही गरेको भन्दै विरोध

प्रकाशित मिति:

हरिश ढकाल
बुटवल सामुदायिक वनमा उत्पन्न विवाद मिलाउन र समस्या समाधानको बाटो छोडेर नेकपा एमाले बुटवल नगर कमिटिले आफ्ना कार्यकर्तामाथि कारबाहीको डण्डा घुमाएको छ । बुटवल सामुदायिक वनमा बिवाद भै दुईवटा समानान्तर समिति बनेको र बिवादित समितिमा बस्न नसक्ने भन्दै रबिन्द्र लाकौल नेतृत्वको समितिबाट ५ जनाले राजीनामा दिएका थिए । राजीनामा दिनेमा ३ जना एमाले र दुई जना काँग्रेस कार्यकर्ता हुन । राजीनामा दिएका हिक बहादुर दर्लामी हितक र जिवलाल पौडेल जिवनलाई पार्टीले पत्र काटेर कारबाही गरेको जानकारी गराउँदै स्पष्टिकरण सोधेको छ । साथै माधव प्रधान समुहलाई सहयोग गरेको र प्रधान नेतृत्वको समितिमा रहेका उपाध्यक्ष जुद्धबहादुर केसी, सदस्य निर्मला भण्डारी र सल्लाहकार टिकाराम शर्मालाई समेत एमाले नगर कमिटीले कारबाही गरेको छ ।
कारबाहीका परेकाहरुले पार्टी नगर कमितिमा लिखित तथा मौखिक स्पष्टिकरण बुझाईसकेको बताएका छन । सामुदायिक वन उपभोक्ता समुह, बुटवल १–२ बाट राजीनामा दिएका र अर्को समितिमा बसेका पदाधिकारी र सदस्यसमेत ५ जनालाई पार्टीको निति र सिद्धान्त बिपरित कार्य गरेको भन्दै नेकपा एमाले बुटवल नगर समितिले लिखित स्पष्टिकरण सहित कारबाही गरेको हो । सामुदायिक वन उपभोक्ता समुह, बुटवल १–२ बाट राजीनामा दिएका हिक बहादुर दर्लामी (हितक), जिवलाल पौडेल (जिवन) र माधव प्रधान नेतृत्वको प्रजातान्त्रिक समुहमा बसेका उपाध्यक्ष जुद्धबहादर केसी, सल्लाहकार टिकाराम शर्मा र सदस्य निर्मला भण्डारीलाई पार्टी सदस्यबाट निलम्बन गरि कारबाही अघि बढाईएको छ ।
कारबाहीका लागि पठाइएको पत्रमा आफुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको र लिखित स्पष्टिकरण मागिएको प्रधान नेतृत्व वन उपभोक्ता समितिका उपाध्यक्ष रहेका एमालेका जुझारु कार्यकर्ता जुद्धबहादुर केसीले बताएका छन । पार्टीमा आफुहरुले सामुदायिक वनको हितार्थ काम गरेको र पार्टी हित बिपरित कुनै काम नगरेको भन्दै लिखित स्पस्टिकरण दिएको केसीले बताए । पार्टीका केही अगुवाहरुले सामुदायिक वनमा अनावश्यक राजनैतिक हस्तक्षेप गरेको र बिवाद मिलाउने प्रयत्नै नगरि कारबाहीको डण्डा घुमाएको भन्दै उनले आपत्ती समेत जनाएका छन । पार्टी नगर समितिले कुरै नबुझी केही भडुवाहरुको ईशारामा कारबाहीको प्रकृया अघि बढाएकोमा उनले चिन्ता ब्यक्त गरेका छन । यस्तै अवस्था रहे पार्टीबाटै राजीनामा गर्ने चेतावनी समेत उनले दिएका छन ।
अर्का एमाले कार्यकर्ता टिकाराम शर्माले पार्टीका केही अगुवा कार्यकर्ताहरु र निर्वाचित जनप्रतिनिधीको दम्भका कारण सामुदायिक वनमा बिवाद चुलिएको बताउँदै चुलिएको बिवाद समाधान गर्नतर्फ नेतृत्वपंक्तिले ध्यानै नदिएको बताए । सामुदायिक वनमा उत्पन्न समस्या समाधान गर्नतर्फ कदम नचाली आफ्ना कार्यकर्तामाथि कारबाहीको प्रकृया अघि बढाउन खोज्नु साँच्चिकै अधिनायकबादी चरित्र भएको शर्माले जिकिर गरेका छन । उनले यो पार्टी नगर कमिटिको गलत रबैया भएको र यस्ता क्रियाकलाप नरोके ठोस निर्णय लिन आफुहरु पनि बाध्य हुने चेतावनी पनि दिएका छन । सहि काम गर्ने र गतल काम गर्ने कार्यकर्ता पार्टीले एकिन गर्न नसकेको उनले दावी गरेका छन ।