जिल्लाकै नमूना विद्यालय बनाउन पञ्चवर्षीय गुरुयोजना प्रस्तुत

प्रकाशित मिति:

पौष २४/ गुल्मी गुल्मी जिल्लाको एक विद्यालयले शैक्षिक सत्र २०७५ देखि २०७९÷०८० सम्मको आफ्नो पञ्चवर्षीय गुरुयोजना प्रस्तुत गरेको छ । सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयले विद्यालयलाई नाम मात्रको नमूना विद्यालय होईन काममा पनि जिल्लाकै नमूना विद्यालय बनाउनको लागि १ सय ८७ पृष्ठको गुरुयोजना विद्यालयका प्रधानाध्यापक केशरबहादुर थापाले प्रस्तुत गरेका थिए । गुरुयोजना प्रस्तुत गर्दै प्रधानाध्यापक थापाले भने नेपाल सरकारबाट २०७४ सालमा जिल्लाकै एउटा नमूना विद्यालयको रुपमा घोषणा भएको यस विद्यालयलाई हामी सबै मिलेर काममा पनि जिल्लाकै एउटा उत्कृष्ट र नमूना विद्यालय बनाउँछौ ।

विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रुपमा सबल बनाउने र एक अनुपम उत्कृष्ट नमूना विद्यालय बनाउनका लागि यो गुरुयोजना तयार पारिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिए । पाँच वर्षका लागि रु ७५ करोड २४ लाख ५१ हजार बराबरको बजेट पेश गरिएको छ । जसमा शैक्षिक क्षेत्रमा १५ करोड ५५ लाख ५१ हजार, विद्यालयको भौतिक क्षेत्रमा ४१ करोड २७ हजार व्यवस्थापकिय क्षेत्रमा ३ करोड ६२ लाख ४ हजार र अन्य क्षेत्रमा १५ करोड ६ लाख ६९ हजार बराबरको खर्च गुरुयोजनामा समावेश गरिएको छ । उक्त बजेट सरकारी तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आम्दानीबाट अनुमान गरि गुरुयोजनामा समावेश गरिएको हो ।

औसत सिकाई उपलब्धि वृद्धि गर्ने, विद्यार्थी केन्द्रित, सिकाईमैत्री र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने, विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, आन्तरिक सक्षमताको विकास गर्ने, उत्कृष्ट कक्षाकोठा व्यवस्थापन गर्ने पञ्चवर्षीय गुरुयोजनाको उदेश्य रहेको छ । त्यस्तै आधुनिक पुस्ताकालय, प्रयोगशाल, छात्रावास र सभाकक्षको निर्माण गर्ने, विद्यालयलाई विद्यार्थी र अभिभावकको रोजाईको केन्द्र बनाउने, विद्यालयका स्रोत साधनहरुको परिचालन गरि आर्थिक रुपमा सबल एवं सक्षम बनाउने, विद्यालय समुदाय विच सुमधुर सम्बन्ध कायम गर्दै विद्यालयीय कार्यक्रमहरु अघि बढाउने र प्राविधिक धार ९कक्षा ९–१२० तर्फको कार्यक्रम सञ्चालन गर्ने पञ्चवर्षीय गुरुयोजनाको उदेश्य रहेको छ ।
विद्यालयले तयार पारेको विद्यालय विकासको गुरुयोजना स्वीकृतिका लागि रेसुङ्गा नगरपालिकामा पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले जानकारी दिए ।