उत्तर कोरियाली नेता किम जङ उनको तीन दिने चीन भ्रमण सुरु

प्रकाशित मिति:

पुष २४ कोरिया । उत्तर कोरियाली नेता किम जङ उनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन्। उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको पुष्टि गरेको हो। उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्छन् भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो। उनी जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीनमा हुने उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ। किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेका खबरहरूमाझ किम चिनियाँ भ्रमणमा निस्केका हुन्। गत जुन महिनामा किम र ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर भेट भएको। आफ्नो बख्तरबन्द रेलमा अन्य उत्तर कोरियाली नेताहरूसँग चिनियाँ भ्रमणमा गएका उत्तर कोरियाली नेता किमको यो एक वर्षभन्दा कम समयभित्रको चौथो भ्रमण हो।

यसअघि उत्तर कोरियाको नेतृत्व गरेको ६ वर्षमा उनले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई कहिल्यै भेटेका थिएनन्। गत वर्ष गरिएका तीनैवटा भ्रमण पनि पूर्व घोषित थिएनन्। चीन उत्तर कोरियाको प्रमुख कुटनीतिक मित्र शक्ति तथा व्यापार र अन्य सहायताको श्रोत मानिन्छ।
मंगलबार किमको ३५ औँ जन्मोत्सब रहेको बताइएको छ। तर अहिलेसम्म उनको जन्म मितिबारे प्योङयाङले भने कहिल्यै पुष्टि गरेको छैन। किमको यस पटकको तीन दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर भेट चाँडै हुँदैछ भन्ने अनुमानलाई थप टेवा पुग्ने बताइएको छ। यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए।
एजेन्सी