ट्रम्प-किम बैठकका लागि ठाउँ खोज्दै अमेरिका

प्रकाशित मिति:

पुष २४ वासिङटन : अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको अर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि बताइएको छ। बैठकका लागि स्थानको भने निश्चित भएको छैन। अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ। यस बैठकको स्थान र मिति भने तय भएको छैन। आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका सञ्चारकर्मीलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘उत्तर कोरियासँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको छ।’ राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ, ‘उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुँदै गएको छ, हामीले राम्रोसँग वार्ता अघि बढाइरहेका छैनौँ, अहिले कुनै रोकावट छैन, हामीले आपसमा निकै राम्रो गरिरहेका छौँ।’ तर उत्तर कोरियामाथिको नाकाबन्दी भने जारी रहनेछ। त्यो पूरा गति र प्रभावमा कायम रहने ट्रम्पले भनेको भन्दै टेलिभिजनमा प्रसारण गरिएको छ।

यसै साताको शुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई पत्र पठाएको खुलासा गरेका थिए। किमको पत्रपछि पनि आपूmहरूबीच वार्ता भएका र त्यसबाट छिटै दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उनले बताएका थिए।

तर उत्तर कोरियाले भने सिंगापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिबद्धता कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको असन्तुष्टि व्यक्त गर्दै आएको छ। त्यसो भएमा आफ्नो तर्फबाट भएको निःशस्त्रीकरणको प्रयासको प्रगति पनि रोकिने उत्तरले स्पष्ट पारेको छ।

उत्तर कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिएको सन्देशमा अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने लगायतका काममा प्रगति नभएको भन्दै आफूले पनि प्रतिबद्धता पूरा नगर्ने बताएका थिए। यद्यपि त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्को चरणको बैठक हुने देखिएको छ। एनआई