सडक दुर्घटना न्युनिकरणबारे छलफल गर्न जरुरी सार्वजनीक महत्वको सुचना नेपाली कांग्रेस द्वारा दर्ता

प्रकाशित मिति:

पुष २४ काठमाडौं । नेपाली काग्रेसले सडक दुर्घटना न्युनिकरण गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनीक महत्वको सुचना पेश गरेको छ । सडक दुर्घटनामा परि वर्षेनी सरदर दुईहजार जनाले ज्यान गुमाईरहेको र हजारौ घाइते भैरहेको तथाङ्क प्रस्तुत गर्दै काग्रेस सांसद डा. डिला संग्रौला पन्तले जरुरी सार्वजनीक महत्वको सुचना दर्ता गराउनु भएको हो । सडक सुरक्षाको व्यबस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बहानहरुलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चातको उद्धार र स्याहारको व्यबस्थापन गर्न पनि यो विषयमा छलफल गर्नुपरेको सांसद संग्रौलाले बताउनु भएको छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्रसंघीय दिगो बिकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडकजन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाईतेहरुको सख्या आदिले घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिद्धता सुनिश्चित गर्न र नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन यो जरुरी सार्वजनीक महत्वको विषयमा संसदमा छलफल गर्नुपर्ने उहाको भनाई छ ।

काग्रेस सांसद संग्रौलाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न दिइएको सुचनामा सांसद सञ्जयकुमार गौतम र रंगमती शाहीले समर्थन गर्नुभएको छ । ‘नेपालमा सडक दुर्घटनामा परेर मृत्यु वा घाईते नभएको कुनै दिन छैन, राजधानी काठमाडौं होस् या तराई, पहाड र हिमाल दुर्घटनामा मानिसको मृत्यु भैरहेको छ, तर यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन’ प्रतिनिधिसभामा पेश गरिएको जरुरी सार्वजनीक महत्वको सुचनामा भनिएको छ– असुरक्षित सडक र संवेदनहीन राज्य संयन्त्रका कारण दुर्घटना वढिरहेको छ ।

नेपाल प्रहरीका अनुसार तथ्याङक हेर्दा पछिल्लो ५ बर्षमा (२०१३÷१४ देखि २०१७÷१८ सम्म) ४० हजार ७ सय ७७ दुर्घटना भए जसमा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यसरी हेर्दा एक बर्षमा सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको तथ्याङक छ । नेपालमा भयाबहक रुपमा वढिरहेको दुर्घटनालाई रोक्नका लागि सरकारले बिशेष ध्यान दिनु जरुरी भएको सांसद संग्रौला बताउनु हुन्छ । सडक दुर्घटना बढ्नुको मुल कारण नेपालमा १ लाख सवारीका साधन हुँदाका बखत, त्यसै गरी सडक संजालको सीमित लम्बाइ भएको बेलामा तर्जुमा गरेका कानूनलाई अहिलेसम्म पनि अद्यावधिक गर्न नसकिएको बताइएको छ । २६ वर्ष अघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्ष अघि बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ का आधारमा नेपालको यातायात व्यवस्थापन भइरहेको छ ।