मेलम्चीको ठेकदारलाई कारबाही गर्न सांसदहरुको माग

प्रकाशित मिति:

पौष २४/ काठमाडौँ
प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन ।संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङ्देनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सिएमसीले सो आयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद सुनुवारले सो आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानवीन समितिनै गठन गर्न पनि माग गरे । उनले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज हुनेतर्फ पनि सरकार र संघीय संसदको ध्यानाकर्षण गराए ।बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ । त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समितिनै गठन गर्नुपर्ने सांसद सुनुवारको माग छ ।

अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्नेहरुलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे ।बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए ।यसैबीच, संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिइन् ।

मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुको गुणस्तर परीक्षणसम्बन्धी पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन पनि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गरेको छ । बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णुओम बादेले केन्द्रको काम कारबाहीबारे समितिलाई जानकारी गराएका थिए