सभामुख र प्रतिपक्षको आ आफ्नै अडानका कारण संसद बैठक अन्यौलमै

प्रकाशित मिति:

प्रधानमन्त्रीको सम्वोधनपछि प्रश्न गर्न नपाएको भन्दै कांग्रेसको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक आजपनि अन्यौलमा परेको छ ।काँग्रेस सांसदहरुलाई प्रश्न सोध्न नदिनु भएका सभामुख कृष्णबहादुर महरा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आ आफ्नै अडानमा रहेकाले आजको बैठक पनि संचालन हुनेमा अन्यौल रहेको छ । प्रधानमन्त्रीले सम्वोधन गरेपछि प्रश्न नगर्न नपाएको भन्दै जहाँबाट बैठक अवरोध भएको थियो त्यहीबाट बैठक सुरु गर्नु पर्ने अडान काँग्रेसले राखेको छ भने सभामुख महराले त्यसलाई अस्विकार गर्दै आउनु भएको छ ।अघिल्लो बैठकमा सभामुखले सहमती र विधि प्रक्रिया उलंघन गरेकाले महराले माफी माग्नु पर्ने र आगामी दिनमा पेलेर जाने मानसिकता त्याग्नु पर्ने काँग्रेसको माग छ । सभामुख महराले भने माफी माग्ने त कुरै हुदैन, अगाडी बढीसकेको प्रक्रियामा फेरी फर्कन सकिदैन र यस पटक प्रश्नउत्तर गराउन सकिदैन, अर्को पटक देखि गराउला भन्नु भएको छ। उहाँको यही अडानका कारण अस्ती बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अनिर्णीत भएको थियो ।

गत २२ गते बसेको बैठकमा प्रधानमन्त्रीको सम्वोधनपछि सांसदहरुले प्रश्न गर्न पाउने कानुनी व्यवस्था बमोजिम प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसले अवरोध गरेपछि पनि सभामुख महराले बैठक चलाउनु भएको थियो । संसदको नियमावलीमा संसद अवरोध भएको अवस्थामा बैठक अगाडी बढाउन नमिल्ने व्यवस्था रहेको छ । २२ गतेको बैठकमा सभामुखले दुई, तीन चरणमा नियमावलीको उलंघन गरेको भन्दै पुर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल, बाबुराम भट्टराई, पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत अन्य पार्टीका नेताहरुले पनि महराको आलोचना गरेका छन् । काँग्रेस नेता गगन थापाले सभामुख महरा सत्तारुढ पार्टीको कार्यकर्ता र प्रधानमन्त्रीको आदेशपालक जस्तो भएको आरोप लगाउनु भएको थियो । यसैबीच संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज विहान ११ बजेपछि बस्नेगरी बोलाइएको छ । यो बैठकलाई भने काँग्रेसले अवरोध नगर्ने काँग्रेसको राष्ट्रिय सभा तर्फका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।