फेरी अनसन बस्न डा केसी इलाममा

प्रकाशित मिति:

सरकारले आफुसँग गरेको सहमती विपरित सत्तापक्षीय सांसदहरुले बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक बनाउन लागेको भन्दै प्राध्यापक डा गोविन्द केसीले फेरी अनसनको तयारी गर्नु भएको छ । आजसम्ममा सहमती अनुसार विधेयक तयार नभएमा १६ औँ अनसनमा बस्ने चेतावनी दिँदै डा केसी दोस्रो पटक इलाम पुग्नु भएको छ ।उहाँले दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने योजना बनाउनु भएको उहाँका सहयोगीहरुले बताएका छन् ।गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक उहाँसँगको सहमती विपरित बन्न लागेपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उहाँ दोस्रोपटक इलाम पुग्नु भएको हो । उहाँ यस अघि जुम्लामा अनसन बस्नु भएको थियो ।

सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्झौता भएको थियो । यस्तै सात वटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना खोल्नेलगायतका माग डा. केसीको रहेका छन् ।गएको पुस १५ गते मंगलबार इलाम आइपुग्नु भएका डा. केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गर्नुभएको थियो ।
समितिको आज बस्न लागेको बैठकले सहमती अनुसार विधेयक पारित गरेमा भने अनसनस्थगित हुने उहाँका सहयोगीहरुले बताएका छन् । विधेयकमा उहाँँसँग भएका सहमतीलाई समेटिनु पर्ने माग गर्दै काँग्रेस सांसद गगन थापाले संसदीय समितिमा फरक मत राख्नु भएको छ ।