३ लाख बढी लाइसेन्स छापिए, १५ दिनमा सबै छापिसक्ने

प्रकाशित मिति:

काठमाडौं । यातायात व्यवस्था विभागबाट लाइसेन्स छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी लाइसेन्स छापिसकेको छ। सुरुवाति दिनमा ‘डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको मालिका इन्कर्पारेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले सेतोपाटीलाई जानकारी दिए।बढीमा १५ दिन भित्र आफूले जिम्मा पाएको ५ लाख लाइसेन्स छापिसक्ने ढकालले दाबी गरे। ‘३ लाख भन्दा बढी लाइसेन्स छापे पनि सबै विभागलाई ‘ह्याण्डओभर’ गरिसकेको भने छैन,छिट्टै सबै लाइसेन्स विभागको जिम्मा लगाउँछौ’ ढकालले भने।

उता, विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म समय दिएको छ। लाइसेन्स छाप्न डाटामा आएको समस्याको कारण ४५ दिनको अवधि कटे पनि ३० दिन समय थप गरी पुस २८ गतेसम्मको अवधि दिइएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। ‘हामीले समस्या बुझ्दै समय थपिदिएका हौँ, मालिकाले सो मितिसम्म जति छाप्छ छाप्छ, त्यसपछि बाकिँ रहेको कार्ड विभाग आफैले छाप्छ’ उपाध्यायले सेतोपाटीसँग भने। विभागले २८ गते समय सिमा तोकिदिए पनि मालिकाले भने अरु १५ दिन समय लाग्ने जनाएको छ। ‘सुरुमा तोकिएको समयसिमामा डाटामा आएको समस्याको कारण राम्रोसँग कामै गर्न सकिएन, समस्या हटेको दिनबाट ३० दिन थप हुनुपर्नेमा समग्रमा ३० दिन थप भएको छ’ ढकालले भने ‘विभागले यो समस्या बुझ्यो भने १५ दिन भित्र हामी जसरी पनि सबै लाइसेन्स छापिसक्छौ,’।