संसदमा उठेका प्रश्नको जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

प्रकाशित मिति:

काठमाडौ –प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिन बुधबारको बैठकमा सरकारलाई निर्देशन दिनुभएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार चलाएको संसद् संसदीय प्रक्रिया र नियमावली विपरीत भएको भन्दै सदन चल्न नसक्ने भन्दै अवरोध जारी रहने बताउनुभएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्य दिनुभएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार प्रश्न राख्न नपाएकोमा सभामुखप्रति आपत्ति जनाउनुभयो । ‘ हामीले समय माग्यौं, समय नपाएपछि उभिनुप¥यो ’ खाणले भन्नुभयो ‘ हामी सभामुखको गरिमा उच्च रहोस् भन्ने पक्षमा छौं, प्रश्न गर्दा मन्त्रीहरु किन जवाफ दिन चाहनुहुन्न ?’ । खाणले संसद्का गतिविधि व्यवस्थापन गर्न गम्भीर बन्नुपर्नेसमेत बताउनुभयो ।

‘नियमावली र प्रक्रियालाई कार्यान्वयन नगर्ने हो भने उभिइरहनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ’ खाणले भन्नुभयो ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ, यो पुरानो अभ्यास र परम्परा पनि हो, यसअघि सोधिएका प्रश्नको पनि जवाफ आएको छैन ।’ संसद्मा उठेका प्रश्नको जवाफ दिनु सरकारको दायित्व भएको उहाँको भनाई छ । नेपाली कांग्रेसका सांसद्हरुले प्रधानमन्त्रीको सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्यप्रति चित्त नबुझेको भन्दै प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । प्रश्न गर्न नपाएको भन्दै कांग्रेस सांसद्हरुले आइतबार सदन अवरोध गरेका थिए । प्रतिनिधिसभा नियमावली, २०७५, को नियम २१९ मा सभामुखको अनुमति लिई विषयबस्तुमा आधारित रही प्रश्न गर्न सकिने व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको आदेशमा प्रश्न गर्न नदिएको कांग्रेस सांसद्हरुको आरोप छ ।