२५ पौष, बुटवल । बुटवल उपमहानगरपालिका वडा–१२ ढबाहमा आजदेखि धनुषवाणा(तारा खेल) प्रतियोगिता शुरु भएको छ । छन्त्याल समुदायको महान पर्व म्ङिलाङे सोङती (माघे संक्रान्ति) छारम्हेङ नयां वर्षको पावन अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजनामा प्रतियोगिता भएको हो ।प्रतियोगिताको आज एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिका वडा नं १२ का वडाअध्यक्ष दुर्गा सुवेदीले धनुषवाण हानेर उद्घाटन गर्नुभएको हो ।समितिका अध्यक्ष भरत छन्त्यालको अध्यक्षता, सचिव नना छन्त्यालको सञ्चालन तथा उपाध्यक्ष रीता छन्त्यालको स्वागतमा भएको उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य जयबहादुर छन्त्यालले छन्त्यालको संकार–संस्कृति,भाषा र धर्म संरक्षणका लागि छन्त्याल समुदाय एकजुट हुंनुपर्नेमा जोड दिएका थिए ।

पौष २८ गते सकिने धनुषवाणा प्रतियोगितामा दाङ, ढबाह, थकाली समाज, मुर्गिया, भलवारी र खैरेनी गरि छ टिमको सहभागिता रहेको अध्यक्ष भरत छन्त्याललले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुंनेले २० हजार,द्धितीयले१२ हजार र तृतीयले ८ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । छन्त्याल समुदायले माघ १ गते माघे संक्रान्तिका दिन मुल समारोह गरेर माघे संक्रान्ति पर्व धुमधामका साथ मनाउंदैछन् ।