महिला सांसद कपाल खौरिएर आमाको किरिया बसेपछी ….

प्रकाशित मिति:

काठमाडौं– प्रदेश नम्बर १ की सांसद उषाकला राई कपाल खौरिएर आमाको किरिया बसेकी छिन् । छोरा नभएकी लक्ष्मी राईकी एक मात्र सन्तान उषाकला आमाको किरिया बसेकी हुन् । उषाकलाकी आमा लक्ष्मी राईको बुधवार काठमाण्डुको ग्राण्डी अस्पतालमा निधन भएको थियो । ‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ,’ पति शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखेका छन्, ‘यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

संविधानसभाकी पूर्व सांसद समेत रहेकी राई त्यतिबेला संसदको महिला ककसकी संयोजक रहेको समयमा छोरीलाई छोरा सरह अधिकारका लागि संघर्ष गरेकी थिइन ।

यस्तो छ पति शेरबहादुर तामाङले लेखेको स्टाटसः

उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिबद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।

महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानूनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौं । मेरो सधैं तपाईंप्रति सम्मान र समर्थन छ ।