किन फेरिए अस्पतालका नाम !

प्रकाशित मिति:

रुपन्देही– प्रदेश नं ५ सरकारले आफू माताहतमा रहेका अस्पतालहरुको नाम परिवर्तन गरेको छ। सामाजिक विकास मन्त्रालयले गरेको सिफारिसका आधारमा प्रदेश मन्त्रिपरिषदले अञ्चल अस्पतालको नाम परिवर्तनको निर्णय गरेको थियो। मन्त्रीपरिषद्को निर्णयलगत्तै अस्पतालहरुको बोर्ड समेत धमाधम फेरिन थालेका छन्। प्रादेशिक नामकरण भएका लुम्बिनी, भेरी र राप्ती अञ्चल अस्पताल र मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाम परिवर्तन भएको हो।

देश प्रदेश संरचनामा गइसकेको र अञ्चल नरहेको अवस्थामा तत्कालका लागि प्रदेश संरचना अनुसार अस्पतालहरूको नामकरण गरिएको समाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए। प्रदेश सरकारले बुटवलको लुम्बिनी अञ्चल अस्पताल, तुल्सीपुरको राप्ती अञ्चल अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल र दाङ बिजौरीको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई प्रदेश अस्पतालका रुपमा नामकरण गरेको हो। अब ती अस्पतालको नाम लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङ, भेरी प्रादेशिक अस्पताल नेपालगन्ज र राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङ  भएको छ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले बिहिबार मात्र अस्पतालको पुरानो नाम हटाएर नयाँ राखिएको जानकारी दिए।