नेविसंघका महामन्त्रीसहित ७ जनाले दिए राजीनामा, नैनसिंह महर अप्ठ्यारोमा

प्रकाशित मिति:

काठमाडौं– नेविसंघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् । राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरु सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ । पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।