फाल्गुन १७ देखी २७ सम्म तेस्रो वयरघारी महोत्सव हुने

प्रकाशित मिति:

एशिव शरण महत पौष २९ भीरकोट स्याङजा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. १ र २, बयरघारीमा रहेको आँधिखोला पिस यूथ क्लवले आगामी फागुन १७ देखी २७ सम्म वयरघारी स्थित सिसौघारी खेलमैदानमा तेस्रो वयरघारी महोत्सव – २०७५ आयोजना गर्ने भएको छ ।  भीरकोट नगरपालिकाका जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु आमा समूह स्थानीय व्यवसायीहरु लगायतसँग क्लवले महोत्सव वारे आज छलफल गरेको छ । समाज र राष्ट्र विकासको लागि यूवा एकता भन्ने नारा सहित महोत्सवको आयोजना गर्न लागेको हो । तेस्रो बयरघारी महोत्सवमा जिल्लाकै सर्वाधिक राशी भएको भलिबल प्रतियोगिता अन्तर आमा समूह रत्यौली प्रतियोगिता, अन्तर विद्यालयस्तरिय नृत्य प्रतियोगिता विभिन्न समुदायका झाँकी प्रदर्शन, प्रत्येक दिन मेला अवधिभर राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति, मनोरञ्जनका लागि बाल उद्यान विभिन्न खानाका परिकारहरु र साथमा स्थानिय प्रतिभाहरुको पनि प्रस्तुति रहने महोत्सवका मूल समारोह समितिका संयोजक राजकुमार गुरुङ्गले बताए ।

छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले महोत्सवले स्थानिय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्न आयोजकले भुमिका निर्वाह गर्नुपर्ने भन्दै नगरपालिकाभित्र रहेका विभिन्न जात–जातीका संस्कृतिहरुलाई समेटी क्लब र भीरकोट नगरपालिकाको पहिचान झल्काउन आयोजक लाग्नुपर्ने बताउनुभयो । साथै नगर प्रमुख खनालले महोत्सवको व्यापक प्रचार प्रसारमा लाग्न आग्रहका साथ नगपालिकाले पनि महोत्सव सफल पार्न सहयोग गर्ने बताउनुभयो । महोत्सवले भीरकोटको पर्यटनको प्रवद्र्धन, कृषिजन्य उत्पादनमा वृद्धि विभिन्न व्यवसाय फस्टाउनमा टेवा पु¥याउनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो । नगर उप–प्रमुख सिमा के.सी. कर्माचार्याले आँधिखोला पिस यूथ क्लबले विगतमा दुई वटा रमाईलो मेला सम्पन्न गरिसकेको भन्दै अब हुने महोत्सव पनि सभ्य अनि भव्यताका साथ सफल पार्न सबै संघ संस्थासँग समन्वय गर्न आयोजकलाई आग्रह गर्नुभएको थियो । छलफल कार्यक्रममा आमा समूहहरुको तर्फबाट मिन कुमारी अधिकारी, भीरकोट नगरपालिकाका बोर्ड सदस्य विन्दु खड्का, वडा अध्यक्षहरु लक्ष्मण खत्री, भिम बहादुर गुरुङ्ग, तन बहादुर गुरुङ्ग, कमल त्रिपाठी, बाबुराम श्रेष्ठ, याम प्रसाद अधिकारी लक्ष्मण  दिपेन्द्र के.सी.ले भीरकोटको पहिचानका लागि महोत्सव आयोजना गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए । भीरकोट नगरपालिका वडा नं. २ अवस्थित सपौंदे सामूदायीक भवनमा चलेको छलफल कार्यक्रममा महोत्सव सफल पार्न विभिन्न उप–समितिहरु समेत गठन गरेको छ । विभिन्न संघ संस्थासँग छलफल एवं समन्वय गरी महोत्सवको ५० प्रतिशत काम सकेपछि पत्रकार सम्मेलन मार्फत जानकारी गराउने क्लबका अध्यक्ष गुरुङ्गले बताए । आँधिखोला पिस यूथ क्लबका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक राज कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन क्लबका सचिव सुस्मिता गुरुङ्गले गर्नुभएको थियो ।