सन्जु पौडेल\गुल्मी हुँगाकी अन्जु टण्डन बुटवलमा डेरामा बसी नर्सिङ्ग कक्षाको तयारी गरिरहेकी छन् । आफु बिदेश जाने मनमा इच्छा संगालेकी उनलाई बिदेशमा रहेकी दिदीले बिदेशमा नर्सिङ्गको स्कोप बताए पछि नर्सिङ्ग पढ्न हौसिएकी छिन् । लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा पिसिएल नर्सिङ्ग पढिरहेकी पुजा भट्टराईको यो स्टाफ नर्स तर्फको अन्तिम वर्ष हो । सानैबाट आफ्नो रुचि भएको भएर उनले यो विषय रोजेको बताउने पुजामा भविष्यमा नर्सिङ्ग पढेर यसो गर्छु भन्ने सोंचाई भने आएन तर उति बेलाको रहर अहिले सोंचमा बदलिएको छ , भन्छिन् ‘ यो वर्ष सकिएपछि जागिर गर्दैे कमाउंदै नर्सिङ्ग कै माथिल्लो तह बि.एन पढ्ने पढ्छु ’ । तीन वर्षसम्म आइपुग्दा करिब ५ लाख खर्चिएको बताउने पुजामा अब थप अध्ययन आफ्नै कमाइले सकाउने रहर छ । अर्घाखाँचीका चुरामणि भुसालले आफ्नी छोरीलाई नर्सिङ्ग पढाउन भन्दै बुटवल आए । छोरीलाई बस्ने कोठाको व्यवस्था मिलाएर नर्सिङ्ग को तयारीे गराइरहेका उनलाई छोरीको रहर र उनले बुझ्दै आएको स्कोपले तानेको छ ।
यि त प्रतिनिधी पात्र मात्र हुन् । कुनै समय छोरी बिग्रिए नर्स र छोरा बिग्रिए कमर्श भन्ने मान्यतालाई चिर्दै अधिकांश छात्राहरु यति बेला नर्सिङ्गको तयारीमा जुटिरहेका छन् । प्राबिधिक बिषय अध्ययन पछि देशमै सम्मानित जागिर त्यस माथि बिदेश जाने सजिलो बाटो ।
स्याङ्गजा र्मिमीकी अमृता भट्टराई पाल्पा प्रवास मेडिकल कलेजबाट नर्सिङ्गअध्ययन सकाई देवदह मेडिकल कलेजमा जागिर गरिन् । धेरै लगानी गरेर सामान्य शिक्षकको जागिरमा रहँदा सोंचे जस्तो सन्तुष्टि उनमा थिएन । केही समय त्यही जागिरमा भुलेकी उनी यति बेला अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामै बस्ने केटासँग बिहेवारीमा बाँधिएर अष्ट्रेलिया पुगेकी उनी अहिले त्यहाँको रजिस्ट्रड र्नसको तयारी गरिरहेकी छिन् ।
नर्सिङ्ग सकाएर बुटवलको एक अस्पतालमा जागिर गर्दै रहेकी पाल्पाकी कोपिला ढकाल आफु अस्पतालको जागिर भन्दा गर्व गर्छिन तर उनको उत्साह धेरै बेर टिक्दैन किन त ? कोपिला भन्छिन् ‘अध्ययन गर्दा अत्याधिक खर्च लाग्छ तर त्यसको तुलनामा काम गर्दा कमाई एकदमै कम जस्तो लाग्छ ।’ बरु विदेश जान पाए पढेको अर्थ लाग्ने भन्दै कोसिस पनि गरिरहेकी छन् ।
अक्सवृज टेक्निकल कलेज, मणिग्रामका म्यानेजिङ डाइरेक्टर शरद भुसाल नर्सिङ्गतर्फको आर्कषण बढेको बताउँछन् । पिसिएल नर्सिङ्ग को अध्यापन हुने उनको कलेजमा ४० जना विद्यार्थीको कोटा छ । अहिले फर्म लिने समय भएकोले एकिन नभए पनि बिगतका बर्षहरुको तथ्यांक हेर्दा दर बढ्दो देखिन्छ । उनको कलेजमा आर्थिक बर्ष ०७२÷०७३ मा ७२ जनाले फर्म भरेकोमा आर्थिक बर्ष ०७३÷०७४ मा बढेर त्यो संख्या १०६ पुगेको थियो । रोजाईको सजिलो माध्यम त्यस माथि प्राविधिक तर्फको राम्रो विषय भएर पनि बिद्यार्थीको आर्कषण बढेको उनको तर्क छ । उनको कलेजमा सिन्धुपाल्चोक, रोल्पा देखीका बिद्यार्थी पढ्न आएको बताउँछन् ,अझ कलेजमा जेहेन्दार र गरिबी गरी २ वटा स्कलरसिपका कोटा छन् ,१ वर्षमा ४ जनाका लागि जसले क्षमता भएका र आर्थिक अवस्था कमजोर भएकालाई समेत राहत पुगेको उनको ठम्याई छ । शरद नर्सिका बिद्यार्थीको भविष्यको लागि राम्रो मानिन्छ । स्वदेशमै पनि शुरुमा अलि दुःख भएपनि पछि कमाई र पदीय हिसाबले पनि बढ्दै जाने र राम्रो हुने अथवा विदेश गएपनि त्यहाँको रजिस्ट्रड हुन पाए एकदम राम्रो हुने उनको तर्क छ ।
मायादेवी टेक्निकल कलेज पिसिएल तर्फका कोर्अडिनेटर चेजा राउत उनको कलेजमा ४० जनाको कोटामा इन्ट्रान्स परिक्षाको लागि ३०० जना सम्म आउने बताउँछिन् । यो पढिसकेपछि विभिन्न शाखाहरु हुन्छन् त्यसमा पनि जागिर पाईने । पछिको अध्ययनका लागि सजिलो हुने हुँदा यस तर्फ आर्कषण बढेको उनको भनाई छ । उनी भन्छिन् ‘त्यस माथि महिलाहरुलाई विदेश जाने भए यो नै बिशेष अवसर नै हो ।’
भाई ईन्स्टिच्युट बुटवलका निलम अधिकारी ईन्स्टिच्युट स्थापनाको १२ बर्षमा नर्सिङ्गको तयारीका लागि आउने बिद्यार्थी शुरुमा ५० जना सम्म आउनेमा अहिले त्यो दर २०० जना पुगेको बताउँछन् । अहिलेको परिपाटीमा नेपाल बस्छु भन्ने कम भएको अवस्थामा विश्वव्यापी रुचाईएको र कमाउन सकिने पेशा नर्सिङ्ग भएको कारण यसमा आर्कषण बढेको निलमको तर्क छ । उनी भन्छन् ‘यो विदेशको युकेबाट अमेरिका अहिले अस्ट्रेलियामा पनि व्यापक छ , तलब पनि अरु पेशाको तुलनामा राम्रो छ त्यस माथि सेतो कोट भन्ने प्रभाव एकदम छ , अझ विदेश मा भएका र पिआर भएकाहरुले नेपाल आएर बिहे गर्न परे नर्सिङ्ग पढेकै केटी खोज्छन् । ’
शिक्षा विद प्रोफेसर डा.आरसि आचार्य नर्सिङ्गलाई एउटा लाईफ सेक्युअर अध्ययनको रुपमा मान्छन् । त्यस माथि यो समाजको ईज्जतिलो पेशा पनि हो भने विदेश जाने सोंचले यो अध्ययन गर्दा राम्रो हुने भनेर प्राथमिकतामा पर्छ आर्चाय भन्छन् ‘अर्कोतर्फ यहीं बसेपनि बिरामीहरुको सेवा गर्र्नु धर्म हो या आम्दानी पनि हुने पेशा हो । नर्सिङ्ग पहिलो प्रायोरिटीमै छ यद्यपी पहिलेको तुलनामा नेपालमा स्टाफ र्नसको महत्व घट्यो तर विदेश जानेका लागि राम्रो छ ।’ आचार्य अहिले नर्सिङ्ग मात्र नभएर अन्य प्राबिधिक बिषय कृषि लगायतका विषय रोज्ने विद्यार्थीहरु पनि बढ्दै गएको बताउँछन् । प्राईभेट सेक्टरमा ६ महिनासम्म स्वयमसेवी भएर बस्नुपर्ने बाध्यता भए पनि सरकारी अस्पतालमा राम्रो सुबिधा पाइरहेको उनको तर्क छ ।