गति लिन नसकेको सरकार(सम्पादकीय)

प्रकाशित मिति:

सत्ता रोहण गरेको पाँच महिना पुग्दा समेत सरकारले आफ्नो गतिलाई तिव्रता दिन सकेको छैन । अघिल्ला मिलिजुली सरकार भएको भए अब सरकार ढल्ने दिनगन्ती शुरु हुने बेला सम्म अहिलेको दुई तिहाई शक्ति सहितको स्थिर सरकारले नागरिकले आशा गरे अनुरुप र सरकारले प्रतिवद्धता गरे अनुरुप अगाडि बढ्न नसक्दा नागरिकमा निरासा उत्पन्न भएको छ । संसदमा स–साना सहजै हल गर्न सकिने बिषयलाई पार लाउन नसकेर अल्झिई प्रतिपक्ष देखी आम नागरिकलाई आक्रोशित गराउने अर्को तिर पुँजी संकलनको लागि करको दायरा बढाएर जनताको ढाड सेकेर आफुलाई कमजोर बनाउँदै गएको सरकारले आफुलाई अब कसरी अगाडि बढाउँछ भन्ने कुरा नै बिर्सदै गएको छ । संधियताको कार्यान्वयनको बाटोलाई टेकेर संचालनमा आएका प्रदेश सरकार र स्थानीय तहलाई समेत गतिहिन बनाएर आफै चल्ती फिर्तीको हैसियतमा अगाडि बढ्दा न त प्रदेश र स्थानीय तहले खुलेर काम गर्न पाएका छन् न त केन्द्र सरकारको नियन्त्रण नै प्रभावकारी छ । नखाउँ दिनभरीको सिकार, खाउँ कान्छा बाउको अनुहार भने जस्तो , सबैले चाहेको स्थिर सरकारबाट केही आशै नगरौं, कुनै दिन राजनैतिक अस्थिरताले गाज्यो भन्ने भान पर्यो आज स्थिर सरकार आयो जनता झनै मर्कामा परे । यो अवस्थाबाट सरकारले पार कहिले पाउला ? जनता कति दिन बिभिन्न बहानामा अभाव र महँगीको भार थेग्दै बस्नुपर्ने हो ? यसको जवाफ अब सरकारले जनतालाई दिने बेला भएको छ ।