आयातितभन्दा स्वदेशी औषधिको मूल्य आठ गुणा महँगो

प्रकाशित मिति:

काठमाडौं-सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ। तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन्। विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ। देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) ले उत्पादन गरेको ‘जेनेरिक’ नाम ‘-यामिप्रिल’ भएको रक्तचापकोर्‍यामिप–२.५ ब्रान्ड नाम भएको औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रति ट्याब्लेट ११ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। सोही जेनेरिक नाम भएको रक्तचाप थेरापीमा प्रयोग हुने विदेशबाट आयातित कारडेस–२.५ ब्रान्डको औषधि भने प्रतिट्याब्लेट एक रुपैयाँ ३४ पैसामा उपलब्ध छ। यो मूल्य अन्तर ८ गुणाभन्दा बढी हो।

डिजेपिएलले नै उत्पादन गरेको ‘एटोरभास्टाटिन जेनेरिक हाइपोलिप–२० ब्रान्ड’ नामक मुटुरोगको औषधिको एमआरपी प्रतिट्याब्लेट २० रुपैयाँ ५० पैसा छ। सोही जेनेरिक नामको आयातित ए्याटकल–२० ब्रान्ड औषधिको एमआरपी भने प्रतिट्याब्लेट ६ रुपैयाँ ३८ पैसामा बिक्री भइरहेको छ। यसमा विदेशीभन्दा स्वदेशी औषधि तीन गुणा महँगो देखिएको छ।