नेविसंघ महाधिवेशनकाे विषयमा कुरा राख्दा देउवाले उल्टै झाँको झारे !

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेविसंघलाई तत्काल महाधिवेशन केन्द्रीत गतिविधि नरोक्न निर्देशन दिएका छन् । आइतबार बिहान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा देउवा निवास बुढानिलकण्ठ पुगेको नेविसंघको टोलीलाई सभापति देउवाले महाधिवेशनको तयारीलाई यथावत् राख्दै संगठन विस्तारमा जोड दिन निर्देशन दिएका हुन् ।

भेटमा नेविसंघका महामन्त्री काफ्लेले पछिल्लो पटक थप गरिएको दुई महिनाको समयावधिमा जिल्ला अधिवेशनका लागि गरिएको पहलका बारेमा जानकारी दिँदै आगामी १२ औ महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण निर्माण गरिदिन देउवासँग आग्रह गरेका थिए । उनले अहिलेसम्म १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका अधिकांश जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भैसकेको जानकारी दिँदै सभापति देउवासँग आगामी तीन महिनाभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आफूहरु सक्षम रहेको र त्यसका लागि समायावधि थप गरिदिन आग्रह गरेको छ ।

सभापति देउवाले नेविसंघलाई महाधिवेशनको तयारीअन्तर्गत भइरहेका जिल्ला अधिवेशनलगायत गतिविधि जारी राख्न निर्देशन दिए । देउवाले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरेर नेविसंघको समायावधिका बारेमा निर्णय गरिने पनि बताएका छन् । महाधिवेशन सुचारु गर्न अाग्रह गरेका नेविसंघको टोलीलाई देउवाले उल्टाे हकारेका थिए ।

‘मैले काम रोक भन्या छु र ? तिमीहरु संगठन विस्तार गर्दै गर, माघ १० गतेसम्मको कामको प्रगति हेरेर नेविसंघको म्यादका बारेमा निर्णय गर्छौं,’ देउवाले भने ।

नैनसिंह महर नेतृत्वको नेविसंघको दोस्रो पटक थप गरिएको म्याद माघ २ गते समाप्त हुँदैछ । माघ २ गतेसम्म कांग्रेसले कुनै निर्णय नगरे विधानतः नेविसंघ स्वतः विघटन हुनेछ । महरको नेतृत्वमा १२ औं महाधिवेशन हुन नसक्ने दाबी गर्दै संस्थापन निकटकै ७ जना पदाधिकारीहरुले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।