सिक्कीममा हरेक घरका एक सदस्यलाई जागिर, १२ हजारले एकैचोटि पाए नियुक्तिपत्र

प्रकाशित मिति:

भारत-भारतको सिक्कीम सरकारले ‘एक परिवार एक रोजगारी’ अन्तर्गत एकसाथ १२ हजार युवाहरुलाई सरकारी जागिर दिएको छ । पबन चामलिङ सरकारले महत्वाकांक्षी अभियानअन्तर्गत सरकारी जागिर नहुने प्रत्येक घरका सदस्यलाई जागिर दिने घोषणा गरेको थियो यसअनुसार १२ हजारलाई अस्थायी रोजगारी दिइएको हो । अभियानअन्तर्गत २० हजार युवालाई रोजगारी दिने योजना रहेकोमा अब बाँकी ८ हजारलाई पनि चाँडै नियुक्तिपत्र दिइने जनाइएको छ ।

मुख्यमन्त्री चामलिङले पाल्जोर रंगशालामा आयोजित रोजगार मेलामा सिक्कीमका ३२ विधानसभाका २–२ जनालाई नियुक्तिपत्र प्रदान गरेका थिए । त्यसअवसरमा उनले जागिर पाएका सबैलाई ५ वर्षपछि स्थायी गरिने वचन दिँदैं त्यसका लागि आफूहरुले नियम बनाएको बताए । उनले चौकीदार, माली, अस्पताल वार्डमा अटेन्डेन्ट, ग्राम पुलिसगार्ड र ग्राम पुस्तकालयध्यक्षसहित २६ विभिन्न पदमा नियुक्ति गरिएको बताए । उनले अब बेरोजगारीको परिभाषा फेर्नुपर्ने भन्दै सिक्कीमा अब कोही पनि बेरोजगारीहुने स्थिति नरहेको बताए । चामलिङले भारतीय इतिहासमै सबैभन्दा बढी कार्यकाल मुख्यमन्त्रीको पदमा बस्ने व्यक्तिको रुपमा पनि रेकर्ड बनाएका छन् ।