प्रहरी इन्काउन्टरमा मारिएका व्यक्ति कुख्यात अपराधी भएको खुलासा

प्रकाशित मिति:

भैरहवा– शनिबार मध्यराति प्रहरी इन्काउन्टरमा मारिएका व्यक्ति नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी रहेको खुलेको छ। ती व्यक्ति विभिन्न फौजदारी तथा आपराधिक मुद्दामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेको कुख्यात अपराधी रहेको रुपन्देही प्रहरीले जनाएको छ।  सीमा क्षेत्र सिद्धार्थनगर– १० शंकरपुरीबाट तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि फायरिङ गरेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको थियो।

मृत्यु भएका ती व्यक्ति विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका– ६ का केदार साहनी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलले जानकारी दिए। मृतक साहनीका परिवारले शवको सनाखत गरेको प्रहरीले जनाएको छ। ‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौं’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले एकाएक प्रहरीमाथि फायरिङ गरेपछि जवाफी कारबाहीमा सहानी मारिएका हुन्।’

प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार छन्। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको १० थान गोली बरामद भएको उनले बताए।

प्रहरी प्रमुख थापाले कुख्यात अपराधि साहनीको इन्काउन्टर प्रहरीका लागि ठूलो उपलब्धि भएको बताए। उनले साहनीका साथीहरुको पनि खोजी व्यापक पारेकाले केही दिनभित्रै पक्राउ गरी सार्वजनिक गर्ने बताए। मारिएका साहनी एक हप्ता अगाडि पनि भैरहवामा माक्स लगाएर घुमिरहेको अवस्थामा देखिएको गुरुङका परिवारले जनाएको प्रहरीले जनाएको छ ।

को हुन साहनी? 
प्रहरी इन्काउन्टरमा मारिएका साहनी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।

राजनितिक दलमा आवद्ध हुनुअघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौंदेखि मोस्ट वान्डेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

साहानीले भैरहवाका आकाश गुरुङलाई अपहरण गरी हत्या गरेर फरार रहेको प्रहरी सूचीमा छ। गुरुङको नवलपरासीको बर्दघाट माथिको जंगलमा हत्या गरिएको थियो। २०७१ साल भदौ २८ गते बिहान साथीले बोलाएर भैरहवाकै बुद्धचोक गएर गुरुङ अपहरणमा परेका थिए।

अपहरण गरेको अर्को दिन २९ गते मध्यराति अपहणकारीले एक करोड फिरौती माग गरेका थिए। अपहरणकारीले फिरौती बापतको रकम पटकपटक माग गरेका थिए। उनीहरुले माग गरे अनरुपको १ करोड परिवारले दिन नसक्ने भएपछि उनको हत्या गरिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, जिल्ला प्रहरी कार्यालय रुपन्देही, नवलपरासीको व्यापक खोजी र अनुसन्धानपछि उनको शव असोज ११ गते फेला परेको थियो।
गुरुङको अपहरणपछि हत्यामा संलग्न भैरहवाका सफिक मोहम्मद, मनिराम चाई, नवलपरासीका नन्दलाल चाई, देवानन्द सिंह फौज्दार, खेमानसिंह दर्लामी, दानबहादुर मगरलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

जिल्ला अदालत नवलसारीको आदेशले त्यतिबेला सबैजना पुर्वपक्षका लागि थुनामा पुगेका थिए भने प्रहरी कारबाहीमा राति मारिएका साहनी र रामजीत हरिजन फरार रहेका थिए। हरिजन अहिलेसम्म फरार छन्।

साहनी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन्। गुरुङको हत्यालगत्तै भारत छिरेका साहनी भारतमा बसेर नेपालमा संगठित रुपमा तस्करीमा संलग्न रहँदै आएको बुझिएको छ। प्रहरीले अन्यको पनि खोजी गरिरहेको जनाएको छ ।

यसरी भएको थियो घटना 
जिल्लाका विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी हुन लागेको विशेष सूचना आएपछि रुपन्देही प्रहरीले विभिन्न नाकामा सर्च अपरेसन थालेको थियो। शनिबार राति १२ बजेर १५ मिनेटको समयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १० शंकरपुर पतैयाचौरमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गरिरहेको थियो।

सिद्धार्थनगर– १० लाटाबैरा स्कुलतर्फको बाटो हुँदै आएको युपि ५३ एच २०२८ नम्बरको मोटरसाइकलमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा आएका दुई जना व्यक्तिले एक्कासि प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेकोले तत्काल प्रहरीद्वारा जवाफी कारबाही गरेको प्रहरीले बताएको छ।

प्रहरी कारबाहीमा उक्त मोटरसाइकलमा आएका अपरिचित व्यक्तिमध्ये १ जना घाइते भएको एक जना सो स्थानबाट फरार रहेका छन्। घाइतेलाई प्रहरीद्वारा उपचारको लागि मेडिकल कलेज भैहरवामा लगिएकोमा ती व्यक्तिको रातिको १२ बजेर ४५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिनपा– ६ बस्ने गोविन्द चाई (साहनी) ले मृतक व्यक्ति आफ्नो दाजु केदार चाई साहनी भएको भन्दै सनाखत गरेका छन्।

साहनीको आपराधिक पृष्ठभूमि 
–    २०६५ असार २३ गते कपिलवस्तु जिल्लामा अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ परी हातहतियार खरखजाना मुद्दामा २०६५ भदौ १५ गते कारागार कपिलवस्तुमा थुनामा गएको। २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनी भागेको।

–    मिति २०६६ चैत ७ गते नलकटुवा पेस्तोल र १ राउन्ड गोलीसहित पक्राउ परी कपिलवस्तु जिल्ला अदालतको मिति २०६६ चैत १५ गतेको आदेशले कारागारमा थुनामा गएको।

–    सशस्त्र समूह सक्रिय रहेको अवस्थामा जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आवद्ध रही रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका विभिन्न जिल्लाका व्यापारीहरूलाई धम्क्याई चन्दा असुली गर्ने गरेको।

–    मिति २०७१ भदौ २८ गते रुपन्देही, सिद्धार्थनगर– ८ बस्ने आकाश गुरुङलाई अपहरण गरी जिल्ला नवलपरासी साविकको धुर्कोट– ७ मा लगी बन्धक बनाई राखी १ करोड फिरौती माग गरेको। फिरौती दिन नसक्दा मिति २०७१ असोज ५ गते ३ बजे गोली हानी कर्तव्य गरी मारेकोमा मिति २०७१ असोज ११ गते लाश फेला परेको। हत्या गर्दा गोली हानेको भिडिओ बनाई घरपरिवारलाई पठाएर धम्क्याउने गरेको।