सञ्चारिकाको प्रदेश लेखमाला विमोचन ,समाज बदल्ने महत्वपुर्ण पाटो पत्रकारिता : सामाजिक विकास मन्त्री

समाज बदल्ने महत्वपुर्ण पाटो पत्रकारिता : सामाजिक विकास मन्त्री

प्रकाशित मिति:

बुटवल – सामाजिक विकास मन्त्री सुदर्शन बरालले समाज बदल्ने महत्वपुर्ण पाटो पत्रकारिता भएको बताएका छन् । उनले आवाज वीहिनहरुको आवाज संचारमाध्ययममा ल्याउन र विभेद तथा विकृति विरुद्ध संचार वकालत गर्न पत्रकारिता महत्वपूर्ण हुने बताए । सञ्चारिका समुह प्रदेश नं ५ को सञ्चारिका लेखमाला तथा सञ्चारिका फिचर सेवाको सोमबार बुटवलमा विमोचन गर्दै मन्त्री बरालले अहिलेको समय खोजमूलक पत्रकारिताको भएकाले पत्रकार महिलाले त्यसमै दक्षता र क्षमता बढाउन आग्रह गरे । प्रयाप्त अध्ययन र समय दिनुपर्ने भएकाले महिलाका लागि पत्रकारिता जटिल विषय हो,’ मन्त्री बरालले भने, ‘यस्तोमा सबै सरोकारवालाले पत्रकार महिलालाई सहयोग गरेर सजिलो पारिदिनुपर्छ । उनले सञ्चारिका समूहको लेखमाला लैंगिक सवाल स्थापित गर्न कोशेढुंगा सावित हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद विनोद पहाडीले पत्रकार महिलाहरुले धेरै चुनौतीहरुलाई पार गर्दे अगाडि बढिरहेको भन्दै प्रशंशा गरे । उनले क्षमता र दक्षता बढाउदै सञ्चारमाध्ययम र राज्यको नीतिलाई लैंगिकमैत्री बनाउन पत्रकार महिला लाग्नुपर्ने बताए ।
पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसीले पत्रकारितामा महिलाहरुलाई टिकाउन र बिकाउन सञ्चारिका समुहले ठूलो सहयोग गरेको बताए । पत्रकार महिलाको क्षमता बढाउन सञ्चारिकाले गरेको योगदानको चर्चा गर्दै उनले लेखमाला आम सञ्चार क्षेत्रका लागि महत्वपुर्ण रहेको बताए ।

मानव अधिकार तथा शन्ति समाजका केन्द्रिय वरीष्ठ उपाध्यक्ष गोविन्द्र खनालले समाज रुपान्तरणका लागि पत्रकारिता महत्वपुर्ण पाटो भएको बताए । हिंसाको विरोध र मानव अधिकार स्थापित गर्न अब पत्रकार महिला र लेखमालाले भूमिका खेल्नुपर्ने उनले बताए । पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिपक ज्ञवालीले फिचर सेवाले पत्रकार महिलाको लेखनसीपलाई वृद्धि गर्ने बताए । खोजमूलक समाचारको अभाव भएका बेला यसले सञ्चार माध्यममको अभाव समेत पूरा गर्ने बताए ।   प्रकाशक तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवरले खोजी पत्रकारिता अहिलेको माग रहेकाले पत्रकार महिलले लेखेका उत्कृष्ट समाचारलाई सबै सञ्चार माध्यमले प्राथमिकतामा राख्ने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ रुपनदेहीका अध्यक्ष समुन्द्र जीसीले पछाडि परेको वर्ग र समूदायका पक्षमा पत्रकार महिलाले लेख्न सुझाव दिए । कार्यक्रममा संसदिय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, कान्तिपुर पब्लिकेशनका प्रदेश ५ संयोजक दिपेन्द्र बडुवाल लगायतले सञ्चारमाध्ययममा लैंगिक विषयका खोजमूलक समाचार उठानमा पत्रकार महिलाले खेलेको भूमिकाको प्रशंशा गरे । उनीहरुले लेखमालालाई समाजमा वाचडगका रुपमा अगाडि बढाउन आग्रह गरे ।

लेखमालाका सम्पादक तथा सञ्चारिका प्रदेश महासचिव अमृता अनमोलले सञ्चार माध्ययमबाट महिला, बालबालिका र मानवअधिकारका विषय उठाउन लेखमाला प्रशाशन सुरु गरेको बताइन् । महिलाहरुको संख्या र क्षमता बढाउन आफूहरु सधैं तल्लीन रहेको भन्दै त्यसकालागि पत्रकार पुरुषलाई समेत लैंगिक विषयमा सजग बनाउने बताइन् । कार्यक्रमका अध्यक्ष तथा सञ्चारिका समुह प्रदेश अध्यक्ष पार्वती पाण्डेले पत्रकार महिला अगाडी बढ्न सरोकारवाला र पुरुष पत्रकारहरुको साथ र सहयोग महत्वपुर्ण हुने बताइन् । पत्रकार महिलाको क्षमता बढाउन र उनीका लेखनशैलीलाई विकास गर्न मात्र नभै लैंगिक सवाललाई संचारमा स्थापित गर्न लेखमाला फिचर सेवाको शुरुवात गरिएको उनले बताइन् ।