कांग्रेसभित्रको गुटउपगुट अन्त्य भयो : उपसभापति निधि

प्रकाशित मिति:

दुल्लु — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार यहाँ उद्घाटन गर्दै उनले भने ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ । उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ट र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै निधिले अब काङ्ग्रेसभित्रको टिके प्रथा अन्त्य हुने दाबी गरे । वर्तमान सरकारले संघीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली कांग्रेको एजेन्डा भएको बताए । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासीन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भए मात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए । समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे । प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा नेता निधिले दुःख व्यक्त गरे ।