श्रीगणेशाय नमः आज माघेसंक्रान्ति पर्व

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको १ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको नवमी तिथि बेलुका ७,४६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र विहान ९।४६ बजेसम्म रहनेछन् । आज साध्य योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२९ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा जानेछन् । आज माघेसंक्रान्ति पर्व हो । आजबाट सूर्य उत्तरायणमा लागेका छन् । उत्तरायण हरेक कार्यका निम्ति शुभ मानिन्छ । खगोललाई ९आकाशलाई० उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको बस्ने गर्दछन् । अर्थात् भनौ हाम्रो एक वर्ष बराबर देवताको दिनरात ९एक अहोरात्र हुने गर्दछ । सूर्य उत्तरायणमा हुँदा देवताको दिन र दक्षिणायनमा हुँदा रात हुने गर्दछ । देवताको दिन भनेको हाम्रो उत्तरायणको समय हो । यस बेला गरिएका देव कर्मको विशेष फल बताइएको छ । सूर्य उत्तरायणमा हुँदा राक्षसका निम्ति भने रात पर्ने गर्दछ ।

उत्तरायणमा गरिएका कार्यले देवता खुशी हुने भएकाले यो समयलाई उत्तम मानिएको हो । उत्तरायण मनुष्यका निम्ति शुभ समय हो । यही शुभ समयको आगमनमा हर्षोल्लासपूर्वक मकरसंक्रान्तिस्नान गर्ने शास्त्रीय विधि रहेको छ । गंगा एवं तीर्थमा गरेको स्नानले देह शुद्धिका साथै अक्षय पुण्य प्राप्त हुने कुरा धर्म शास्त्रमा उल्लेख पाइन्छ । यसैगरी आज दाउरा, कम्बल, वस्त्र, जुता, तेल, घिउ, त्रिपाल, सुन, अन्नदान गर्नाले महत् पुण्य प्राप्त हुने कुरा पनि धर्मसिन्धुमा बताइएको छः अत्रेन्धनकंबलवस्त्रेपाहनतैलघृतपूर्णपटीसवर्णान्नदानानि महाफलानि’ ९धर्मसिन्धु द्वितीय परिच्छेद० यसैगरी माघमा स्नान गर्नाले इच्छाएको फल प्राप्त हुने कुरा निर्णयसिन्धुमा पनि बताइएको छ । यसैगरी आज संक्रान्तिफल श्रवण गर्नाले गंगामा स्नान गरेबराबरको फल प्राप्त हुने कुरा समेत शास्त्रमा बताइएको छ । आज माघी पर्व पनि मनाइन्छ । लोक संस्कृति अनुसार आफ्ना देवताको पूजा गरी माघीको प्रसाद खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाउने माघी पर्वको पनि विशेष महिमा रहेको छ । साथै विभिन्न तीर्थस्थलमा मेला लाग्ने पनि चलन रहिआएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् harekpal bata sabhar