देवघाटमा माघे संक्रान्ति मेलाको अवसरमा भक्तजनहरु ठूलो भीड

प्रकाशित मिति:

तनहुँ/   तनहुँ, चितवन र नवलपुरको संगम पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेलाको अवसरमा भक्तजनहरु ठूलो भीड लागेको छ । सोमबार राति नै देवघाटमा आएर रातभर  जाग्राम बसी बिहानै त्रिशुली र कालीगण्डकीको संगमस्थलमा नुहाउनेहरुको भीड निकै थियो ।हरेक बर्ष माघ १ गते देवघाटमा लाग्ने माघे संक्रान्ति मेलामा देशका विभिन्न भागबाट ठूलो संख्यामा भक्तजन दर्शनका लागि देवघाट आउने गर्छन् । दर्शन गर्न वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको थियो । नुहाउँदा कुनै पनि दुर्घटना नहोस् भनेर नदी किनार छेउमा डोरी टाँगिएको थियो ।डुंगा र र्‍याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेको बताए ।

मेला भर्न आएका दर्शनार्थीहरु रातभर ध्वनी बालेर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा सहभागी भएका थिए । सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामिनी कार्यक्रम भएको थियो । देवघाटको गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन मंगलबार हुँदैछ ।मेला ब्यवस्थित गर्न देवघाटका चार ठाँउमा सचिवालय स्थापना गरिएको छ । देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था छ भने त्रिशुली नदीबाट आवातजावात गर्न सहजताका लागि डुंगाको व्यवस्था गरिएको छ ।तनहुँ र चितवनतर्फ सुरक्षाका लागि करिब पाँच सय सुरक्षाकर्मीको खटाइएको छ । नदी किनारमा आपतकालीन उद्दारका लागि सशस्त्र प्रहरीको विपद ब्यवस्थापन केन्द्र कुरिनटारबाट ९ जनाको टोली र स्थानीय बोटे समुदायलाई परिचालन गरिएको छ । ३० जना ट्राफिक प्रहरी मेलामा ट्राफिक व्यवस्थापनका लागि खटिएका थिए ।

कालीगण्डकी र त्रिशुली नदी मिसिएको संगम स्थलमा नुहाउने ठाउँ सुरक्षित पार्न बाँस गाडेरे डोरी लागाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य तथा मेला ब्यवस्थान समितिका सदस्य नवराज ढकालले जानकारी दिए । भक्तजनको सवारी पार्किङ गर्दा चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मोटरसाइकल, कार, बसको पार्किङ शुल्क तोकिएको छ ।