पुराणकाल देखि अहिले सम्म यौन हिंसा

प्रकाशित मिति:

रामले सीतालाई घरबाट निकाले । योभन्दा ठूलो घरेलु हिंसा र प्रताडना के हुनसक्थ्यो रद्रौपदीलाई चिरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भीष्मजस्तो बलशाली र नैतिकवान पुरुषहरू पनि दुर्योधनको यो काममा मानौं मूक साक्षी थिए । दुर्योधनको नुन खाएका विवेकवान कर्ण पनि चुप लागेर बसेका थिए । युधिष्ठिरले द्रौपदीलाई वस्तु नै ठानेर जुवामा हारेका थिए । रजस्वला भएकी द्रौपदीले अर्धनग्न शरीरलाई छोप्न र त्यस कुकृत्य रोक्न हस्तिनापुरको दरबारले सकेन । कृष्ण आएर उनको लाजको रक्षा त गरे, तर त्यो बेलासम्म धेरै कुरा नष्ट भैसकेको थियो । महिलालाई बलात्कार गरे पनि केही हुँदैन भन्ने भावनाले र महिला केवल यौनपिपासाका लागि हुन् भन्ने कौरव पुत्रको कुत्सित भावनाविरुद्व आवाज उठाएर कौरव पुत्रलाई संहार गर्न नसक्नाले नै महाभारतको युद्धमा त्यत्रा धेरै मानिस मारिए । जति मारिए, त्योभन्दा बढी बाँचेकाहरू तड्पिए ।

यौन हिंसाकै कारणले सीताले जीवनभर सुख पाउन सकिनन् । रावणले उनीसँग शारीरिक सम्बन्ध राख्न नै हरेर लगेको थियो । रामायणमा उसले सीतालाई बलात्कार गरेको चाहिं कतै देखाइएको छैन । किनभने उसलाई कुनै स्त्रीको इच्छाविरुद्व शारीरिक सम्पर्क नराख्ने चेतावनी दिइएको थियो । त्यसैले रावणले मानसिक रूपमा सीताको यौन शोषण गरे पनि शारीरिक रूपमा चाहिं गर्न सकेन । तर रामले कहिले पनि सीतालाई यौन शोषण भएको छैन भन्ने विश्वास गर्नै सकेनन् । वास्तवमा राम यदि साँच्ची नै मर्यादा पुरुषोत्तम हुँदा हुन् त सीतालाई उनले कुनै पनि हालतमा अग्निपरीक्षा लिनु नै हुँदैनथ्यो । किनकि यदि रावणले सीतालाई बलात्कार गरेकै भए पनि सीताको मस्तिष्कमा त राम नै थिए । बलात्कृत हुनुमा सीताको कुनै दोष थिएन । तर रामले यो कुरा स्विकारेनन् । अग्निपरीक्षाबाट मुक्त भैसकेपछि रामको मनमा सीता यौन शोषणकी सिकार भएकी हुनाले उनी दोषी नै हुन् र रामसँग जीवन बिताउन योग्य छैनन् भन्ने नै लागिरहेको थियो र उनको शंकामा मानौं आगोमा घिउ थपेझैं गर्‍यो, धोबीको कुराले ।र त्यही मानसिकता बोकेर आएको हाम्रो समाजले कुनै पनि महिला चाहे छोरी, श्रीमती, बुहारी जो हुन्, सबैलाई यौनहिंसा गर्दै आएको छ । मुलुकी ऐनको कानुनले पनि लामो समयसम्म बलात्कृत महिलाहरूलाई नै दोषी बनाउँथ्यो । कसैबाट बलात्कृत भएपछि स्वतः नै श्रीमानसँग उनको सम्बन्ध छुट्टनिे बनाइएको थियो ।अहिल्याप्रति आसक्त भएर इन्द्रले उनका पतिको रूप लिएर अहिल्यासँग संसर्ग गरे । अहिल्याका ऋषि पतिले उनलाई नै दोषी ठहराए । उनी बलात्कृत पनि भइन् । दोषी पनि मानिइन्। ऋषिले उनलाई त्यागे र पत्थर हुने सराप दिए । समाजले पुरुषको बलात्कार एकछिनको सानो गल्तीमात्रै मान्यो । तर त्यो अपराधको सिकार भएकी महिलालाई चाहिं जीवनभर तड्पिन बाध्य गरायो ।

त्यही अहिल्या र इन्द्रकथा समाजमा दोहोरी नै रहेको छ ।यौनहिंसा हुँदा सबैभन्दा पहिले पुरुष अपराधी नै हो भनेर हेर्नुको सट्टामा तपाई(हामी बलात्कृत महिला कस्ती थिइन्, कस्तो लुगा लगाएकी थिइन्, कति बाहिर जान्थिन् भन्नेजस्ता प्रश्नहरू छलफल गर्न लाग्छौं । अनि पुरुषलाई विचरा, कमजोर अवस्थामा मन लोभियो होला भन्नेजस्ता तर्कगर्छौं । बलात्कार भनेको एक प्रकारको हत्या नै हो र यसले पीडितलाई लामो समय दुःख दिइरहन्छ भन्ने मानसिकता हामीकहाँ छैन । त्यसैले बलात्कार गरेकाहरू २ वर्ष, ५ वर्ष सजायमात्र पाउँछन् । बाहिर निस्केर फेरि कतिलाई बलात्कार गर्न सक्छन्, कसैले हिसाब राखेको छैन ।द्रौपदीको सुन्दरतामा मुग्ध भएका युधिष्ठिरले द्रौपदीसँग सबै पाण्डवले विवाह गर्नुपर्ने मान्यता बनाएर पनि द्रौपदीको शरीरमाथि हिंसा नै गरेका थिए । द्रौपदीलाई अर्जुनमात्र मनपरेका थिए । अर्जुनले पनि माछाको आँखामा वाण हानेर नै द्रौपदीलाई जित्न सफल भएका थिए । तर युधिष्ठिरको लोलुप मनले द्रैपदीसँग यौनसम्पर्क राख्न चाह्यो । त्यो बेला समाजमा नचलेको एउटा अचम्मको नियम बनाइयो । द्रौपदीलाई पाँचै पाण्डवको यौन सम्बन्धको वस्तु बनाउने अर्थात् राम्रो शब्दमा सबैकी पत्नी बनाउने । युधिष्ठिरको यो कार्यलाई पनि समाजले स्वीकृति दियो । द्रौपदीको शरीरमाथि यो हिंसा थियो भनेर कसैले विचार गरेन, त्यसबेला ।

त्यसैले युधिष्ठिरका लागि द्रौपदी केवल एक यौन आनन्द लिने वस्तु वा यौनदासी मात्र थिइन् । त्यसैकारणले गर्दा उनले सहजै द्रौपदीलाई वस्तु ठाने । उनी हाम्रो वैवाहिक संकार कन्यादानबाट पे्ररित थिए र उनले द्रौपदीले दान दिएको हुनाले द्रौपदीलाई मानव नमानेर एक वस्तुमात्र मानेका थिए । त्यही कन्यादान दिने प्रचलनले नै र त्यो बेलामा भनिएका शब्दहरू मारे पाप, पाले पुण्यु भनेर छोरी दान गरिन्छ । यदि पिटियो र मारियो भने पनि केही पाप लाग्छ । तर प्रायश्चित भइहाल्छ भन्ने विचारले नै श्रीमतीलाई यौन शोषण गर्न र महिलालाई बलात्कार गर्न पुरुषहरू हिचकिचाउँदैनन् ।महिलाहरूप्रति गरिने अपराधहरू प्रायःजसो विवाह गर्न नमान्दा वा आफूलाई मनपरेको मानिससँग विवाह गर्ने इच्छा वा श्रीमतीसँग सम्बन्ध नराख्ने इच्छा वा श्रीमानको वा साथीको अति यौन इच्छाबाट आजित भएर छोड्न खोज्दा हुन्छन् । सबै यौनकै सेरोफेरोका हुन् ।
हिन्दु धर्ममा मात्र होइन, हाम्रा समाजमा प्रचलित अन्य धर्महरूमा पनि महिलाहरूप्रति गरिने यौनहिंसा र बलात्कारको लागि धार्मिक कानुुनअनुसार महिलाहरूलाई नै प्रताडित गरिन्छ । मुस्लिम देशको कानुनमा कुनै महिला बलात्कृत भइन् र प्रहरीमा रिपोर्ट गरिन् भने उनले चारजना लोग्नेमान्छे साक्षी खोजेर ल्याउनुपर्छ, जसले उनी बलात्कृत देखेका हुन् । यदि उनले ल्याउन सकिनन् भने बलात्कृत महिलाले नै पुरुषलाई लोभ्याएकी भनेर उनी नै सजायको भागिदार हुन्छिन् । नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभूति दिएको छ होला रु