अगर बत्तिको बट्टामा चरेस राखेर पार्सल गर्ने क्रममा युवती पक्राउ

२ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
75 Shares


काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनलाई हुलाक कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो ।ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने, ‘विशेष सुराकीका आधारमा गएको टोलीले उनको साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको थियो । जसमा फल्स बटम बनाएर चरेस राखिएका थिए ।’उनका अनुसार त्यो चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको थियो । त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकी युवती डान्स बारहरुमा समेत नाच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले विभिन्न महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्ने गरेकी थिइन् ।बयानका क्रममा उनले यसअघि एक पटक सजिलैसँग अगरबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएकी छन् । यद्यपि, प्रहरीले उनले यसअघि पनि यसरी नै चरेस पठाएको हुनसक्ने आशंका गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया