प्रदेशको नाम र राजधानी टुंगो लगाउन भन्दै बुटवलमा कांग्रेसको प्रदर्शन

प्रकाशित मिति:

बुटवल/  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ ।आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदियदलमा कांग्रेसका सचेतक बालकृष्ण खांडले मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउकालागि मात्र बुटवललाई अस्थायी राजधानी नबनाईएको बताए ।

उनले लुम्बिनीसंग पहाड र तराईको जिल्ला जोड्दै समृद्ध प्रदेश बनाउन देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउंदै मुख्यमन्त्री र प्रदेश सरकारले चाहंदैमा राजधानी अन्यत्र जान नसक्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले किस्तीमा राखेर कम्युनिष्टहरुलाई सत्ता दिंदा समेत प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाए ।सभा सूरुहुनु अघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिभिन्न नारा लगाउंदै नगरपरिक्रमा गरेका थिए । बुटवलकोराजमार्ग चौराहाबाट सूरु भएको ¥याली मिलनचौक, पुष्पलालचौक हुंदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताहरुले माघ ३ लाई बुटवलले प्रदेश राजधानी घोषणा भएको उत्सवकोरुपमा मनाउनुपर्ने बताएका थिए । तत्कालिन देउवा सरकारले १ वर्ष अगाडी आजकै दिनमा ७ वटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्रराज कंडेल, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांचीका पार्टी सभापतिहरुले समेत बोलेका थिए ।