कृषि विकास बैंक को परासी बजारमा एटिएम संचालनमा

प्रकाशित मिति:

कृषि विकास बैंक लिमिटेड परासी शाखाले नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–५ स्थित परासी बजारमा एटिएम संचालनमा ल्याएको छ ।परासीमा संचालन आएसँगै बैंकका एटिएम सेवा ५५ पुगेका छन् । एटिएम सेवाको बैंकका क्षेत्रीय निर्देशक मीनराज पोख्रेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै पोख्रेलले ग्राहकको सेवालाई सहजता प्रदान गर्न एटिएम संचालनमा ल्याइएको बताए । उनले हरेक नागरिकलाई प्रभावकारी र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्य अन्तर्गत एटिएम सेवा दिइएको जनाए । निर्देशक पोख्रेलले विगतका दिनमा गाउँका किसानलाई कसैले नपत्याएको अवस्थामा सानोसानो भए पनि संस्थागत रुपमा ऋण दिनु पर्छ र उनीहरुको जीवनस्तर उकास्नुपर्छ, कृषि पेसालाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले बैंक स्थापना गरिए पनि अहिले (क) वर्गको बाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । पोख्रेलले बैंकले अहिले किसानलाई कृषि कर्जासँगै ४० प्रकारका कर्जाहरु प्रदान गरेर सबै क्षेत्रका नागरिकलाई ऋण उपलब्ध गराउँदै आएको जनाए । उनले यससँगै अन्य बैंकहरुले जस्तै डिम्याट खाता खोल्ने, स्मार्ट बैंकिङ, एटिएम, भिजा कार्ड, एसएमएस एलर्ड सुविधा, एलसी, बैंक ग्यारेन्टी लगायतका विभिन्न नयाँ योजनाहरु पनि संचालनमा ल्याएको जनाए ।
शाखा प्रबन्धक जयनेपाल श्रेष्ठले बैंकले शुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको बताउँदै एटिएम सेवाको भरपूर्ण प्रयोग गर्न ग्राहकलाई आग्रह गरे । उनले सरल र छिटोछरितो सेवा नै बैंकको उद्देश्य भएको जनाउँदै आगामी दिनमा थप नयाँ योजनाहरु साथ अघि बढ्ने जनाए । कार्यक्रममा पूर्वराज्यमन्त्री घनश्याम यादव, बैंकका ग्राहक, कर्मचारी लगायतको सहभागिता थियो । देशका ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको बैंकका हाल मुलुकमा सबैभन्दा धेरै शाखासंजाल छन् । बैंकका साविक लुम्बिनी अंचलमा २९ र नवलपरासीमा मात्रै ४ वटा शाखा छन् ।