अखिल नेपाल फुटबल संघ एन्फा ले टासी घलेको पद खोस्ने निर्णय

प्रकाशित मिति:

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा ले टासी घलेको मानार्थ पद खोस्ने निर्णय गरेको छ ।बिहीबार बसेको एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद फिर्ता लिने निर्णय गरेको हो । यो निर्णयसँगै घले एन्फाबाट अलग भएका छन् ।
एन्फाको चुनावमा कर्माछिरिङ शेर्पा समूहलाई विजयी गराउन भूमिका खेलेको घलेलाई मानार्थ अध्यक्ष बनाइएको थियो ।तर, पछिल्लो समय एन्फा नेतृत्व र घलेबीच दुरी बढेको थियो । घलेले केही जिम्मेवारी मागेको तर, अध्यक्ष कर्माछिरिङ शेर्पाले अस्वीकार गरेको स्रोतको दाबी छ ।

एन्फाको चुनावमा आर्थिक लेनदेन भएको भन्दै हालै सार्वजनिक भएको अडियो रेकर्ड पनि घलेले चार जिल्ला अध्यक्षलाई उपलब्ध गराएको एन्फा पक्षको आरोप छ ।एन्फाले चार जिल्ला अध्यक्षमाथि सचिवालयले छानविन गरेर अनुसासन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । ललितपुर, काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षले एन्फाको चुनावमा अनियमिता भएको दाबी गर्दै आएका छन् ।

एन्फाले महिला साफ च्याम्पियनसिप आयोजनाका लागि अध्यक्ष शेर्पाको नेतृत्वमा आयोजक समिति बनाएको छ । ओलम्पिक छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको महिला राष्ट्रिय टिमका सदस्यलाई जनही ५० हजार र यू(१९ टिमका सदस्यहरुलाई जनही २५ हजार दिने भएको छ । महिला साफ च्याम्पियनसिपको तयारीमा रहेका ३० खेलाडीलाई जनही १० हजार दिइने भएको छ ।बैठकले स्वीडेनका जोन कादेनलाई मार्चबाट राष्ट्रिय टिमको जिम्मा दिने निर्णय गरेको छ ।