पानीजहाज कार्यालय स्थापना हुने

मन्त्रिपरिषद्ले प्रहरी छैठौं संशोधन नियमावली २०७५ स्वीकृत गरेको छ

प्रकाशित मिति:

काठमाडौ रासस \ सरकारले रेल गाडी खरिद कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषद् बैठकले जि टु जी प्रक्रिया अवलम्बन गरी रेल खरिद कार्य अघि बढाउन यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो । यसबारे विशेषगरी भारतसँग छलफल भइरहेको सरकारका प्रबक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । गत आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सिंहदरबारमा आज जानकारी दिंदै मन्त्री बास्कोटाले नेपाल पानीजहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज समेत स्वीकृत गरिएको बताउनुभयो । संगठनमा इन्जिनियरिङ सेवा अन्तर्गतका राजपत्रांकित द्वितीय श्रेणीका व्यक्तिले नेतृत्व गर्ने गरी १६ जना कर्मचारी रहनेछन् ।

मन्त्रिपरिषद्ले प्रहरी छैठौं संशोधन नियमावली २०७५ स्वीकृत गरेको छ । संशोधित नियमावलीमा अधिकृत पदमा रहेकाले बढ्वाका लागि ४ बर्ष काम गरिसक्नुपर्ने यसअघिको प्रावधानलाई घटाएर ३ बर्ष कायम गरिएको छ । आगामी चैत १५ र १६ गते हुने लगानी सम्मेलन का लागि आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । तेल तथा ग्यासका स्रोतसम्बन्धी सर्भे परियोजनामा चिनियाँ सहयोगसम्बन्धी सम्झौता कार्यान्वयनका लागि पनि सरकारले स्वीकृति प्रदान गरेको छ । यसअन्तर्गत दैलेख र पाल्पाको तानसेनमा ग्यासखानी सम्बन्धी अन्वेषण गरिने मन्त्री बास्कोटाले जानकारी दिनुभयो । सरकारले २ लाख डलर राशीको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम स्वीकृत गरी राजपत्रका प्रकाशित गर्ने निर्णय पनि गरेको छ । सरकारले मन्त्रीहरुको तलव र अन्य सेवा, सुविधा वापतको रकम सम्बन्धित मन्त्रालयबाटै भुक्तानी हुने गरी व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।