निक्कीले भेटिन् नयाँ प्रेमी

प्रकाशित मिति:

एजेन्सी \ स्टार पहलवान जोन सेनाका साथ आफ्नो उतारचढावपूर्ण सम्बन्धलाई समाप्त गरेकी निक्की बेलाले अब नयाँ जीवनतर्फ अघि बढ्ने संकेत गरेकी छिन् । ३५ वर्षीया अमेरिकी स्टार निक्की आफैं पनि डब्लूडब्लूई पहलवान हुन् । हालै उनलाई रूसी डान्सर तथा डान्सिङ विथ द स्टार्स कार्यक्रमका डान्सर अर्टेम चिगविनसेभसँग डेटिङमा रमाइरहेको देखिएको छ ।

कुनै बेला निक्की १६ पटकका डब्लूडब्लूई च्याम्पियन जोन सेनाकी गर्लफ्रेन्ड थिइन् । उनीहरूबीच अफेयरको सुरुवात २०१२ मा भएको थियो र २०१७ अप्रिल २ मा रिङमै जोन सेनाले उनलाई प्रपोज गरेका थिए । गत मे महिनामा उनीहरुको विवाह हुने पक्का भएको थियो । यद्यपि अप्रिलमै निक्कीले विवाह रद्द भएको घोषणा गरेर सनसनी मच्चाएकी थिइन् । जोन सेनाकै कारण उक्त विवाह रद्द गर्नुपरेको उनको भनाइ थियो । तैपनि उनीहरूबीच फेरि पनि सम्बन्ध विकसित हुन सक्ने अड्कल काटिएको थियो, तर अब निक्कीले अर्को बाटो रोजेको समाचारले अन्तर्राष्ट्रिय मिडियाहरू भरिएका छन् । औपचारिक रूपमा भने उनीहरूले यस विषयमा केही भनेका छैनन् ।