चुनाव हारेपनी आफ्नो लोकप्रीय डा शेखर कोइराला

प्रकाशित मिति:

विराटनगर । काँग्रेस नेता डा शेखर कोइरालाको फुर्सद हुनासाथ आफ्नो निर्वाचन क्षेत्रको दौडाहा निस्कन्छन् । निर्वाचन क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकामा आयोजना हुने अधिकांश कार्यक्रममा सहभागी बन्छन् । यसैसाता काठमाडौबाट विराटनगर आएका कोइराला कार्यकर्ता र मतदातासँगको भेटघाटमा निकै व्यस्त बने । कोइराला निवासबाट प्रायजसो बिहानै निस्कने उनी राजनीतिक र सामाजिक कार्यक्रममा व्यस्त छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भन्छन्,‘‘उहाँले निर्वाचनमा हारेपनि आफ्नो क्षेत्रलाई माया मार्नु भएको छैन । बरु झन् धेरै समय दिएर जनताको पिरमर्कामा साथ दिइरहनु भएको छ । कोइराला फुर्सद मिलाएर काठमाडौबाट सोझै विराटनगरतिर आउने गरेको थपलिया बताउँछन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा तत्कालीन नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग कोइराला पराजित भए । पण्डित भने अहिले संघीय सरकारको मन्त्रिमण्डलमा अटाएका छन् । काँग्रेस नेता महेश आचार्य दुई सातोदेखि विराटनगरमै छन् । माघ ५ गतेसम्मको सूची बनाएर लामो बसाइँमा आएका आचार्य विभिन्न राजनीतिक कार्यक्रममा पनि सहभागी भईरहेका छन् ।

कार्यकर्ता भेटघाटदेखि काँग्रेसको अबको कार्यदिशा र पार्टीको नयाँ संघीय स्वरुपबारे पनि छलफल गरिरहेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका गाउँपालिका र नगरपालिकामा हुने धेरै कार्यक्रममा उनी सहभागी भएका छन् । आचार्य भन्छन्, अब केही समय यतै रहन्छु । आफ्नो क्षेत्रका कार्यक्रममा पनि सहभागी हुँदैछु । आचार्यले काठमाडौमा खासै धेरै व्यस्त नभएको हुँदा विराटनगर आएको सुनाए । उनी तत्कालीन एकीकृत माओवादीका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए । नेताको निरन्तरको सक्रियता भेटघाटले सर्वसाधारणमा निकै सकारात्मक प्रभाव परेको छ । पहिले जितेर जाने वा हार्नेले समेत माया मार्ने गरेको गुनासो सुनिन्थ्यो तर अहिले त्यस्तो सोचाइमा समेत परिवर्तन आउन थालेको छ । बुढीगंगा गाउँपालिकाका सन्तोष चौधरी निरन्तरको सक्रियताले आफूहरुलाई समेत नेता जिम्मेवार बन्दै गएको संकेत मिलेको बताउँदै भन्छन् पिरमर्का बुझ्न उहाँहरु प्रायजसो गाउँघरमै आउने गर्नु भएको छ । हामीलाई पनि समय दिँदा मन बुझ्ने गरेको छ ।

काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल पनि निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा खटिने नेताको रुपमा परिचित छन् । बाक्लो गरी विराटनगर–काठमाडौं आउजाउ गरिरहने अर्याल आफ्ना मतदाता समक्ष विविध कार्यक्रम लिएर पुगिरहेका हुन्छन् ।  उनी तत्कालीन माओवादीका उम्मेदवार शिवकुमार मण्डलसँग मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा पराजित बनेका थिए । दुई दिनको बसाईपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित शनिबार मात्र काठमाडौं फर्किएका छन् । सामाजिक संस्था र पार्टीका सातवटा कार्यक्रममा सहभागी हुन उनलाई भ्याई नभ्याई भयो । एक रात सुन्दरहरैंचामा कार्यकर्ताको घरमा बास बसे ।
काठमाडौमा फुर्सद हुनासाथ प्रायःजसो विराटनगर झर्छन् । अनि आफ्नो निर्वाचन क्षेत्रतिर लाग्छन् । जितेर जाने नेता हराउँछन् भन्ने जनताको गुनासो मेट्न पण्डित पनि प्रयास गरिरहेका छन् ।12 karibata