समर लभ माघ २५ गतेबाट हलमा

प्रकाशित मिति:

सुविन भट्टराईले लेखेको बहुचर्चित उपन्यास ‘समर लभ मा आधारित नेपाली चलचित्रको टोली प्रमोशनका लागि देश दौडाहामा हिडेको छ ।माघको २५ गते पर्दशनमा आउन लागेको चलचित्र ‘समर लभ को टोली देश दौडाहाकै क्रममा शुक्रबार बुटवल आएको हो । प्रमोशनका लागि बुटवलमा आएको टोलीले चलचित्र धेरै राम्रो बनेको दावी गरेको छ । टोलीसँग चलचित्र पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार भेटघाटमा चलचित्र विशेष गरेर युवायुवतीलाई केन्द्रीत गरि निर्माण गरिएको निर्मात्री इन्दु भण्डारीले बताईन् । संचारकर्मीसँग कुराकानी गर्दै उनले चलचित्र साह्रै राम्रो बनेको प्रतिकृया समेत दिईन ।नेपालका विभिन्न स्थानका लगायत मलेसिया, नर्वे, सिंगापुर लगायतका स्थानमा छायांकन गरीएको चलचित्र उपन्यासले उद्रीत गरेका स्थानहरुलाई कैद गरेको निर्मात्री भण्डारीले जानकारी गराईन् । नाई नभन्नु तीन निर्देशन गरेका मुस्कान ढकालको निर्देशनमा बनेको समर लभ चलचित्रबाट नायक आशिष पिया र रेवती क्षेत्रीले डेब्यू गर्दै छन् । ‘समर लभ आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो भने यहि उपन्यासका आधारमा बनेको चलचित्रका पात्र पनि अतित र शाया नै छन । अतितको भूमिकामा आशिष पिया र शायाको भूमिकामा रेवती क्षेत्रीले अभिनय गरेका छन् ।नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रको कार्यकारी निर्माता विनोद अधिकारी तथा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता हुन् । पत्रकार भेटघाट कार्यक्रम संघका रुपन्देही अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र संचाकर्मी झविन्द्र देवकोटाको संचालनमा भएको थियो ।