दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ देखि काठ्माण्डौमा हुने

प्रकाशित मिति:

‘कथ्यहरूको उत्सव’ सन्देशसहित दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ फागुन ९ देखि काठ्माण्डौमा हुने भएको छ । पाँचदिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३१ राष्ट्रका ५९ फिल्महरू प्रदर्शनका लागि अन्तिम छनोटमा परेको बताए ।तीमध्ये नेपालका १६ फिल्म समावेश छन् । मुलुकबाहिरबाट ३१ छोटा फिल्म छन् भने ६ फिचर फिल्म । नेपाली फिल्महरूमा ६ वटा फिचर र १० वटा छोटा फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा फिल्म पनि महोत्सवमा समावेश गरिएको छ । पाठकले महोत्सवमा छनोटमा परेका फिल्महरूको प्रदर्शनका साथै नेपालका चर्चित फिल्मकर्मी र अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका विशेषज्ञहरूको सहभागितामा बृहत् छलफल पनि हुने बताए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका फिल्महरूमध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई ट्रफी र एक हजार डलरसहितको गौतम बुद्ध अवार्ड र एक सर्वोत्कृष्ट छोटो फिल्मलाई पाँच सय डलर र ट्रफीसहितको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । नेपाल पानोरामाअन्तर्गतको प्रतिस्पर्धामा सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई ५० हजार रुपैयाँ र ट्रफीसहित पुरस्कार, सर्वोत्कृष्ट छोटो फिल्मलाई २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।